विराटनगर | विराटनगरलाई सफा, सुन्दर, उज्यालो, व्यवस्थित र विकसित बनाउने अभियानअन्तर्गत बरगाछी–रानी सडक सौन्दर्यकरण परियोजनाका लागि बैंक तथा वित्तीय संस्थाहरूबाट सहयोग जुट्ने क्रम जारी रहेको छ । सो परियोजनाका लागि स्टान्डर्ड चार्टर्ड बैंकले पनि सहयोग रकम प्रदान गरेको छ ।
बैंकले बुधबार महानगरकी कार्यबाहक मेयर शिल्पा निराला कार्कीलाई २ लाख रुपैयाँ बराबरको चेक हस्तान्तरण गरेको छ । कार्यकक्षमै पुगेर बैंककी प्रदेश प्रमुख शर्मिला हुमागाईंसहितको टोलीले कार्यबाहक मेयर कार्कीलाई चेक हस्तान्तरण गरेको हो । वडा नम्बर १ का अध्यक्ष काजीबहादुर बस्नेत, ११ का तीर्थेन्द्र नेउपाने, महानगरका तर्फबाट सौन्दर्यकरणको संयोजन गरिरहनु भएका सरसफाई शाखा प्रमुख पुनमकुमार दाहालसमेतको उपस्थितिमा बैंकले महानगरको सडक सौन्दर्यकरणका लागि सहयोग रकम हस्तान्तरण गरेको थियो । हालसम्म १८ लाख ५० हजार रुपैयाँ परियोजनाको खातामा जम्मा भइसकेको छ ।
यसअघि १० वटा विभिन्न बैंक तथा वित्तीय संस्थाहरूबाट १६ लाख ५० रुपैयाँ जम्मा भइसकेको थियो । सो सडकको सौन्दर्यकरणका लागि ५५ लाख रुपैयाँको लागत अनुमान गरिएको छ । यसअघि एनआईसी, एनआईएमवी, नेपाल बैंक, ग्लोबल आइएमई, कुमारी बैंक, सानिमा बैंक, कृषि विकास बैंक, एनएमवी बैंक, छिमेकी लघुवित्त र जीवन विकास लघुवित्त वित्तीय संस्थाले रकम जम्मा गरिसकेका थिए । महानगरको आग्रहमा सामाजिक उत्तरदायित्वअन्तर्गत बैंक तथा वित्तीय संस्थाहरूले बरगाछी–रानी सडक सौन्दर्यकरणमा सहयोग पु¥याइरहेका छन् ।
सो सडकको सौन्दर्यकरणका लागि सहयोग संकलन गर्न महानगरले बैंकर्स एसोसिएसनका प्रदेश अध्यक्ष सन्तोष बुढाथोकीको संयोजकत्वमा आर्थिक संकलन समिति गठन गरेको थियो । प्राविधिकसहितको सो समितिले लामो अध्ययन गरी फूल र विरुवाको जात, लागत अनुमानलगायत समेटेर महानगरलाई प्रतिवेदन बुझाएको थियो । समितिले बुझाएको प्रतिवेदनका आधारमा सौन्दर्यकरणको प्रक्रिया अघि बढाएको महानगरका मेयर नागेश कोइरालाले जानकारी दिनुभयो ।
हाल तारजाली लगाएर फूल रोप्ने कार्य भइरहेको छ । बरगाछीदेखि महेन्द्र चोकसम्मका सबै मेडिएम (डिभाइडर)मा तारजाली लगाइसकिएको महानगरका तर्फबाट सौन्दर्यकरणको संयोजन गरिरहनुभएका दाहालले जानकारी दिनुभयो । अब बरगाछी–महेन्द्रचोकका केही डिभाइडरमा मात्रै फूल रोप्न बाँकी छ । संविधान दिवसका अवसरमा असोज ३ गते बिहीबार बाँकी रहेका डिभाइडरमा पनि फूल रोप्ने कार्यक्रम राखिएको उहाँले बताउनुभयो ।
मेयर कोइरालाले विराटनगर बनाउने सबैको दायित्व भएको बताउनुभयो । महानगर एक्लैले विराटनगर बनाउन असम्भव भएकाले यहाँ रहेका बैंक तथा वित्तीय संस्थाको सामाजिक उत्तरदायित्वअन्तर्गत बरगाछी–रानी सडक सौन्दर्यकरण गर्न आह्वान गरेअनुसार सहयोग प्राप्त भएको मेयर कोइरालाले बताउनुभयो ।
५ किलोमिटर लम्बाई रहेको विराटनगर बरगाछी–रानी सडकमा ४६ वटा मेडिएम (डिभाइडर) रहेको सडक सौन्दर्यकरण अभियानको संयोजन गरिरहनुभएका दाहालले जानकारी दिनुभयो । एउटा डिभाइडरमा भने नेपाल उद्योग परिसंघ कोशी प्रदेशले सौन्दर्यकरण गरिसकेको छ ।
महानगरले गठन गरेको समितिले ‘क’ वर्गका बैंकका लागि २ लाख, ‘ख’ वर्गका लागि १ लाख ५० हजार, ‘ग’ वर्गका लागि १ लाख र ‘घ’ वर्गका बैंक र लघुवित्त संस्थाहरूका लागि ५० हजार रुपैयाँ निर्धारण गरेको थियो । प्रदेश राजधानीसमेत रहेको विराटनगरमा ४२ वटा बैंक तथा वित्तीय संस्थाहरू सञ्चालनमा रहेका छन् ।
परियोजनाका लागि छुट्टै बैंक खाता सञ्चालनमा ल्याइएको दाहालले बताउनुभयो । परियोजनालाई पारदर्शी र व्यवस्थित बनाउन उद्योगी तथा समाजसेवी वेनिगोपाल मुन्दडाको संयोजकत्वमा महानगरले गठन गरेको समितिले हाल सौन्दर्यकरण अभियानलाई तीव्रता दिइएको छ ।
Post a Comment