Websoft University

कटान गरेको केशलिया खोलामा तटबन्धन निर्माण गरिने


विराटनगर | तीन दिनको अविरल वर्षाका क्रममा केशलिया खोलाले कटान गरेको स्थानमा तटबन्ध बनाइने भएको छ । विराटनगर–१२ स्थित महानगर आवास परियोजनाको सम्पन्न बस्ती पश्चिमबाट केशलिया खोलाले कटान गरेर बस्तीमा प्रवेश गरेको थियो । बाढी बस्ती प्रवेश गर्दा सो क्षेत्रका अधिकांश क्षेत्र डुबानमा परेको थियो । कोशी प्रदेश खानेपानी, सिंचाई तथा ऊर्जा मन्त्रालयको सहयोगमा तटबन्ध निर्माण गरिने भएको हो । 

पूर्वमुख्यमन्त्री केदार कार्कीलाई साथमा लिएर कटानको निरीक्षण गर्न पुग्नुभएका कार्यबाहक मेयर मेयर विश्वनाथ भगतले तत्कालै तटबन्ध निर्माणको काम सुरु हुने बताउनुभयो । सो क्षेत्रका प्रदेभसभा सदस्यसमेत रहनुभएका कोशी प्रदेशका पूर्वमुख्यमन्त्री कार्कीलले खानेपानी, सिंचाइ तथा ऊर्जा मन्त्रालयका सचिव प्रदीप वान्तवालाई फोन गरेर घटनास्थलको निरीक्षण गर्न बोलाउनुभएको थियो । मन्त्रालयका महाशाखा प्रमुख र कृष्णप्रसाद राजवंशी, जल तथा सिंचाइ विकास डिभिजन मोरङका इन्जिजियर अनिलकुमार महतोलाई सँगै लिएर कटानस्थल पुग्नुभएका सचिव वान्तवाले लागत इस्टिमेट निकालेर तटबन्ध निर्माण गर्ने प्रतिबद्धता जनाउनुभएको थियो । तत्कालका लागि कटान भएको करिब एक सय मिटरमा तारजाली लगाएर तटबन्ध निर्माण गर्नु आवश्यक देखिएको सचिव वान्तवाले बताउनुभयो । 

पूर्वमुख्यमन्त्री कार्कीले केशलियाको बाढीबाट बस्ती जोगाउन केशलिया करिडोर निर्माण आवश्यक रहेको औंल्याउनुभयो । उहाँले सम्पन्न बस्ती छेउबाट केशलियाको बाढी पस्दा सम्पन्न बस्तीमात्रै नभएर प्रदेश प्रहरी कार्यालय, तालिम केन्द्र र आसपासको क्षेत्र डुबानमा परेको जानकारी दिनुभयो । ‘केशलिया करिडोर निर्माण गरिए यस्तो समस्या कहिल्यै आउँदैन,’ कार्कीले थप्नुभयो, ‘केशलियाको बाढी समस्याको स्थायी समाधानका लागि एक मात्रै विकल्प करिडोर निर्माण नै हो ।’

निरीक्षणका क्रममा वडा नम्बर ६ का अध्यक्ष अक्षय सहनी, महानगर प्रहरीका निरीक्षक राजन पौडेल, मेयरका स्वकीय सचिव डिकप्रसाद घिमिरेलगायतको सहभागिता रहेको थियो । कार्यबाहक मेयर भगतले मौसममा सुधार आएसँगै सो क्षेत्रमा बाढीको जोखिम पनि कम भएको बताउनुभयो । बखरी विद्यालयमा आश्रित बाढीपीडितलाई महानगरका तर्फबाट पुनःस्थापना नहुञ्जेलसम्मका लागि खानालगायतका अन्य आधारभूत आवश्यकता परिपूर्ति गरिरहेको उहाँले जानकारी दिनुभयो।

 दक्षिण कोरिया भ्रमणमा रहनुभएका मेयर नागेश कोइरालाले बाढीपीडितका बारेमा गम्भीर चिन्ता र चासो लिइरहेको उहाँले सुनाउनु  भयो । ‘मेयर सा’बले मलाई छिनछिनमा फोन गरेर बाढी प्रभावितको अवस्था बारे जानकारी लिइरहनुभएको छ,’ कार्यबाहक मेयर भगतले भन्नुभयो, ‘सम्पन्न बस्तीका बासिन्दा यदि जोखिममा छन् भने स्काभेटर लगेर भए पनि अस्थायी तटबन्ध निर्माण गर्न भन्नुभएको छ ।’

 

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.