Websoft University

विराटनगर महानगरद्वारा ५ स्थानमा ट्राफिक लाइट जडान सुरु-लाइट जडानका लागि धमाधम खम्बा गाडिँदै


विराटनगर | ट्राफिक व्यवस्थापनलाई सहज बनाउने उद्देश्यले विराटनगर महानगरपालिकाले विराटनगरका विभिन्न पाँच स्थानमा ट्राफिक लाइट जडान गर्न सुरु गरेको छ ।

असोज मसान्तभित्र लाइट जडान गरिसक्ने गरी कार्य सुरु गरिएको महानगरपालिकाका मेयर नागेश कोइरालाले जानकारी दिनुभयो । कोशी प्रदेशको एक मात्रै महानगरपालिका हुनुका साथै प्रदेशको राजधानी पनि भएका कारण पछिल्लो समय विराटनगरमा ट्राफिक व्यवस्थापन चुनौतीका रुपमा देखिएको छ । 

बढ्दो जनघनत्व, सवारी चापलगायतले ट्राफिक व्यवस्थापनमा समस्या हुने गरेको थियो । प्रमुख चोकमा ट्राफिक लाइट जडानपछि ट्राफिक व्यवस्थापनमा निकै सहयोग पुग्ने मेयर कोइरालाको भनाइ छ । महानगरको गुरुयोजनामा विराटनगर विभिन्न ७ स्थानलाई समेटिएको छ । ती मध्ये हाल पाँच स्थानमा जडान सुरु गरिएको महानगरको प्रमुख प्रशासकीय अधिकृत राजेन्द्र पराजुलीले जानकारी दिनुभयो । निर्माण कम्पनीले तीव्र रुपमा कार्य गरिरहेको उहाँको भनाइ थियो ।

महानगरले ७७ लाख रुपैयाँको लागितमा विराटनगरको तीनपैनी, जलजला, कञ्चनबारी, रोडशेष र घाँसचोकमा ट्राफिक लाइट जडान सुरु गरेको छ । हाल खम्बा गाड्ने कार्य भइरहेको छ । ट्राफिक लाइट जडान गर्न ठेक्का पाएको ई थ्री यार्सा जेभी काठमाडौंले हाल धमाधम कार्य गरिरहेको छ ।

ट्राफिक लाइट जडानको कार्य आगामी असोज मसान्तसम्म सकिने महानगरको जनाएको छ । जिल्ला ट्राफिक प्रहरी कार्यालय मोरङका अनुसार विराटनगर महानगरपालिकाभित्र दैनिक करिब ९५ हजार सवारी साधन गुड्ने गरेका छन् ।  महानगरले ट्राफिक लाइट जडान गरेपछि विराटनगरको छ स्थानमा ट्राफिक लाइट हुनेछ ।

 जसले ट्राफिक व्यवस्थापनमा समेत सहज हुने मेयर कोइरालाको भनाइ छ । ‘बढ्दो जनघनत्वसँगै अत्यधिक सवारी चापका कारण ट्राफिक व्यवस्थापनमा समस्या देखिँदै आएको छ,’ मेयर कोइरालाले भने, ‘विराटनगरको ट्राफिक व्यवस्थापनलाई चुस्तदुरुस्त राख्न पहिलो चरणमा ५ स्थानमा जडान सुरु भइसकेको छ ।’ उपमेयर शिल्पा निराला कार्कीका अनुसार ट्राफिक लाइट जडानपछि यसअघि महानगर क्षेत्रमा देखिँदै आएको ट्राफिक समस्या हट्नेछ ।

सीमित ट्राफिक प्रहरीबाट ट्राफिक व्यवस्थापनमा निकै समस्या हुने गरेको ट्राफिक प्रहरी प्रमुख सुमन न्यौपानेले बताउनुभयो । अब लाइट जडानपछि भने थोरै जनशक्ति भए पनि ट्राफिक व्यवस्थापनमा केही सहज हुने उहाँको भनाइ थियो ।

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.