Websoft University

विराटनगरमा निकालियो भीमसेनजात्रा


विराटनगर | विराटनगर–१० सनसारीमाईस्थानस्थित भीमसेन मन्दिर सेवा समितिको आयोजनामा मंगलबार भीमसेनजात्रा निकालिएको छ ।

मन्दिर परिसरमा आयोजित कार्यक्रममा कोशी प्रदेशका पर्यटनमन्त्री सदानन्द मण्डलले भीमसेनको मूर्तिमा पूजापाठ गरेर जात्राको शुभारम्भ गरेका थिए । मन्दिर परिसरबाट झ्याँकीसहित निकालिएको भीमसेनजात्रा ट्राफिकचोक, महेन्द्रचोक, शनिमन्दिर, भृकुटीचोक, डिएसपी रोड हुँदै अतिथिसदन, जलजलाचोक, बुधहाटचोक, रेम्बो गल्ली हुँदै झिः पुचमा पुगेर समानपन भएको थियो । कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री मण्डलले नेपाल बहुभाषिक, बहुसांस्कृतिक र बहुधार्मिक मुलुक भएको बताए । 

उनले नेपालमा बसोबास गर्ने सबै जातजातिको आ–आफ्नै भाषा, कला र संस्कृति रहेको उल्लेख गरे । आर्थिक रुपमा नेपाल कमजोर भए पनि कला र संस्कृतिमा नेपाल विश्वमै धनी मुलुक भएको मन्त्री मण्डलको कथन थियो । नेवारी संस्कृति ऐतिहासिक र धनी संस्कृति भएको उनले बताए । नेवारी संस्कृतिले नेपाललाई अन्तर्राष्ट्रियस्तरमा समेत चिनाएको भन्दै मन्त्री मण्डलले भने, ‘नेपालभित्र रहेका सबै जातजातिका आ–आफ्नै कला र संस्कृति छन् । सबैको फरक विशेषता छन् । विराटनगरमा निकालिने भीमसेनजात्रा पनि एउटा महत्वपूर्ण संस्कृति हो भन्ने मलाई लाग्दछ ।’

उनले जात्रालाई निरन्तरता र मन्दिरको संरचना निर्माणका लागि प्रदेश सरकारले सहयोग गर्ने प्रतिबद्धता जनाए । मन्दिर व्यवस्थापन समितिका अध्यक्ष सुरेशकुमारश्रेष्ठले हरेकवर्ष भीमसेनजात्रा भव्य हुँदैगएको बताए । उनले जात्रामा मोरङ जिल्लाका विभिन्न ठाउँमा बसोबास गर्ने नेवारी समुदायका व्यक्तिहरूको उपस्थिति हुने क्रम पनि बढेको उल्लेख गरे । ‘भीमसेनजात्रा परारभन्दा पोहोर भव्य भयो । अझै पोहोरभन्दा यसपटक झनै भव्य भयो,’ श्रेष्ठले भने ।

भीमसेनजात्राले युवापुस्तालाई आफ्नो भाषा, कला र संस्कृतिप्रति आकर्षित गर्न सहयोग पुग्ने मन्दिर व्यवस्थापन समितिका महासचिव भविसकुमार श्रेष्ठले बताए । नेपाली कला र संस्कृतिमा पाश्चात्य संस्कृतिको प्रभाव बढ्दै गइरहेका बेला भीमसेनजस्ता नेपाली मौलिक संस्कृतिले युवापुस्तामा आफ्नो संस्कृतिप्रति जागरण ल्याउने दाबी गरे । 

हरेक जातजातिले आफ्नो भाषा, कला र संस्कृतिको संरक्षण गर्नु आवश्यक रहेको महासचिव श्रेष्ठको भनाइ थियो । भीमसेनलाई लक्ष्मीको अर्को रुपमा पनि हेर्ने गरिएको श्रेष्ठले बताए । विगत १२ वर्षदेखि हरेक वर्ष इन्द्रजात्राका दिन विराटनगरमा भीमसेनजात्रा निकालिने गरेको श्रेष्ठले जानकारी दिए ।

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.