Websoft University
December 2024


विराटनगर पुस १६ गते | नेपाली कांग्रेसका वरिष्ठ नेता डा. शेखर कोइरालाले जनतामा आशा जगाउन सञ्चारकर्मीको भूमिका महत्वपूर्ण हुने बताएका छन् ।

नेपाल पत्रकार महासंघ सुनसरी शाखाको पदस्थापन कार्यक्रमलाई धरानमा सम्बोधन गर्दै संघीय सांसदसमेत रहेका कोइरालाले जनतामा आशा जगाउने गरी समाचार सम्प्रेषण गर्न पत्रकारहरुलाई आग्रहसमेत गरे । बिहान उठेदेखि नसुतुञ्जेलसम्म समाचार हेर्ने हो भने निराशाले भरिएको मात्रै पाउने गरेको उनको भनाइ थियो । ‘बिहानदेखि रातिसम्म हेर्ने हो भने अधिकांश मिडियामा नकारात्मक र निराशाजनक समाचार मात्रै देख्न पाइन्छ । सामाजिक सञ्जाल हे¥र्यो नकारात्मक र निराशा, सञ्चारमाध्यम हे¥यो जताततै निराशैनिराश मात्रै देखिन्छ,’ उनले भने, ‘देशमा राम्रा काम पनि भएका छन् ।

 कम्तीमा हरेक मिडियाले गाउँ टोलमा भएका राम्रा कुराको पनि समाचार बनाइदिए समाजमा सकारात्मक सन्देश प्रवाह हुन्छ ।’ देशको परिवर्तनमा सञ्चार क्षेत्रको भूमिका अग्रणी रहेको चर्चा गर्दै नेता कोइरालाले जनतामा आशा लगाउन पनि भूमिका खेल्न आग्रह गरे । उनले मुलुकमा आर्थिकमन्दीका बीच पनि भौतिक संरचनाको विकासले गति लिएको बताए । ‘देश केही नभएको होइन भइरहेको छ । राम्रो कामलाई नरात्मकताले थिचेको छ,’ नेता कोइरालाले भने । प्रविधिको विकाससँगै पत्रकारहरुले पनि आफूलाई परिमार्जित गर्ने लानुपर्नेमा उनको जोड थियो ।

त्यस्तै नेता कोइरालाले नेपाली कांग्रेस र नेकपा एमाले गठबन्धनको सरकारबाट जनताले धेरै नै आशा गरेको प्रस्ट्याए । ‘यो सरकार विशेष परिस्थिति र निश्चित लक्ष्य लिएर बनेको छ,’ नेता कोइरालाले थपे, ‘यो सरकार असफल भयो भने देशमा अराजकता बढ्छ । लामो संघर्ष र बलिदानबाट प्राप्त लोकतन्त्र खतरामा पर्छ । 

यो सरकारलाई असफल हुन छुट छैन ।’ नेता कोइरालाले २०८४ सम्मै यो सरकार टिक्ने दाबी गरे । सरकारमा सँगै भए पनि आगामी निर्वाचनमा दुवै दलबीच प्रतिस्पर्धा हुने उनको भनाइ थियो । उनले भने, ‘कांग्रेसको प्रतिस्पर्धा एमालेसँगै हुन्छ र एमालेको पनि प्रतिस्पर्धा कांग्रेससँगै हुन्छ । सरकार सञ्चालन गर्नु र चुनावमा प्रतिस्पर्धा गर्नु फरक विषय हो ।’ नेता कोइरालाले सुशासन कायम गर्न तीनै तहको सरकार असफल भएको टिप्पणी गरे । सुशासन हुने हो भने मुलुकमा धेरै अगाडि बढ्ने उनको विचार थियो ।

कार्यक्रममा नेपाली कांग्रेसका केन्द्रीय सदस्य राजीव कोइरालाले निष्पक्ष र सत्यतथ्यमा आधारित भएर कमल चलाउन पत्रकारहरुलाई आग्रह गरे । एमालेकी केन्द्रीय सदस्य मञ्जु भण्डारी, धरान उपमहानगरपालिकाका उपमेयर अइन्द्रविक्रम बेघा, नेपाल पत्रकार महासंघ कोशी प्रदेशका अध्यक्ष भरत खड्का, प्रेस युनियन कोशी प्रदेश अध्यक्ष मीनकुमार नवोदित, सुनसरीका प्रमुख जिल्ला अधिकारी रामचन्द्र तिवारी, अग्रज पत्रकार हर्ष सुब्बा, पत्रकार महासंघ पूर्वकेन्द्रीय सदस्य अमर खड्का, सुनसरीका निवर्तमान अध्यक्ष जनकऋषि राई, निवर्तमान सचिव ध्रुव ढकाल, नवनिर्वाचित अध्यक्ष सन्तोष काफ्लेलगायतले मन्तव्य व्यक्त गरेका थिए ।

 

 


विराटनगर पुस १६ गते |  कोशी प्रदेश ज्येष्ठ नागरिक महासंघले जग्गादातासहित उत्कृष्ट जिल्ला शाखालाई सम्मान गरेको छ ।

चौथो साधारणसभा तथा दोस्रो अधिवेशनको अवसर पारेर महासंघले मंगलबार विराटनगरमा आयोजना गरेको कार्यक्रममा उनीहरूलाई सम्मान गरेको हो । महासंघले समाजसेवी तथा जग्गादाता सुरेशकुमार श्रेष्ठ र कमला श्रेष्ठलाई सम्मान गरेको छ । महासंघको भवन निर्माणका लागि श्रेष्ठ दम्पत्तिले विराटनगर–५ सम्झनाचोकमा करिब १ करोड रुपैयाँ पर्ने १ कठ्ठा १ धुर जग्गा उपलब्ध गराउनुभएको छ । सो जग्गामा महासंघको नयाँ भवन निर्माण गर्ने योजना छ । श्रेष्ठ ज्येष्ठ नागरिक महानगर समिति विराटनगरका अध्यक्षसमेत हुन् । जग्गादाता कमला भने शारीरिक अस्वस्थताका कारण कार्यक्रममा उपस्थित हुनुभएन । कार्यक्रममा विराटनगर महानगरपालिकाका मेयर नागेश कोइराला, वडा नम्बर १ का अध्यक्ष काजीबहादुर बस्नेत, महासंघका अध्यक्ष मणिकुमार अज्र्याललगायतले दोसल्ला ओढाएर ताम्रपत्र प्रदान गर्नुभएको थियो ।

त्यस्तै महासंघले उत्कृष्ट जिल्ला शाखाका रुपमा ज्येष्ठ नागरिक जिल्ला संघ इलामलाई सम्मान गरेको छ । संघले ज्येष्ठ नागरिकलाई लुम्बिनी, देवघाट, अर्जुनधारा, बराहक्षेत्रलगायतका स्थानमा तीर्थयात्रा गराउनुका साथै कपडा वितरण, अन्तरक्रिया, रेडियो कार्यक्रमलगायत सञ्चालन गरेर ज्येष्ठ नागरिकका हक अधिकार स्थापित गर्न महत्वपूर्ण भूमिका निर्वाह गरेको महासंघको ठहर छ । उत्कृष्ट कार्य गरेबापत संघका अध्यक्ष देवीप्रसाद गौतमलाई दोसल्लाओढाएर सम्मानपत्र प्रदान गरिएको थियो ।

कार्यक्रमलाई सम्बोधन गर्दै मेयर कोइरालाले मेयर कोइरालाले किताबको ठेलीमा भन्दा ज्यादा ज्ञान ज्येष्ठ नागरिकहरूको अनुभवबाट प्राप्त गर्न सकिने बताउनुभयो । जीवनमा हरेक व्यक्ति ज्येष्ठ नागरिक हुने मेयर कोइरालाले प्रस्ट पार्नुभयो । कार्यक्रमका प्रमुख अतिथिसमेत रहनुभएका मेयर कोइरालाले ज्येष्ठ नागरिकका नैतिक आदर्शलाई नयाँ पुस्तामा हस्तान्तरण हुने व्यवस्थाको सिर्जना गर्दै परिवार, समाज तथा राष्ट्रलाई असल संस्कृतिको निरन्तरता र समाजसापेक्ष विकासको प्रेरणाको रूपमा लिनु जरुरी रहेको औंल्याउनुभयो |

नेपालमा हाल २५ लाखभन्दा बढी ज्येष्ठ नागरिक रहेको बताउँदै मेयर कोइरालाले संविधानमा उल्लेख भएअनुसारको अधिकार राज्यबाट ज्येष्ठ नागरिकले प्राप्त गरेका छन् कि छैनन् भनेर समीक्षा हुनु जरुरी रहेको बताउनुभयो । वैदेशिक रोजगारीले ज्येष्ठ नागरिकलाई समस्यामा पारेको उहाँको भनाइ थियो । मेयर कोइरालाले विराटनगर महानगरपालिकाले ८० वर्षभन्दा माथिका ज्येष्ठ नागरिकहरूलाई घर–घरमै पुगेर निःशुल्क स्वास्थ्य जाँच गर्नुका साथ औषधिसमेत वितरण गर्दै आएको जानकारी गराउनुभयो।

टोल–टोल र वडा–वडामा भन्दा सबैलाई पायक पर्ने स्थानमा एकीकृत रुपमा ज्येष्ठ नागरिक भवन निर्माण गर्ने महानगरको योजना रहेको उहाँले सुनाउनुभयो । वडाध्यक्ष काजीबहादुर बस्नेतले ज्येष्ठ नागरिकलाई सबैले सम्मान गर्नुपर्नेमा जोड दिनुभयो । उहाँले महानगर र वडा कार्यालयहरूले ज्येष्ठ नागरिकले पाउने सुविधा सहज रुपमा उपलब्ध गराइरहेको दाबी गर्नुभयो ।

सो अवसरमा आयोजक संस्थाका अध्यक्ष मणिकुमार अज्र्याल, महासचिव योगेश्वर निरौला, सचिव जयप्रसाद संग्रौला, आजीवन देवीप्रसाद बास्तोला, ज्येष्ठ नागरिक संघ तेह्रथुमका अध्यक्ष सर्वजीत लिम्बूलगायतले ज्येष्ठ नागरिकका मुद्दालाई राज्यले बेवास्ता गर्ने गरेको गुनासो गर्नुभएको थियो ।

 महासंघकी कोषाध्यक्ष जया राईले आर्थिक प्रतिवेदन पेश गर्नुभएको थियो भने महासचिव योगेश्वर निरौलाले सांगाठानिक प्रतिवेदन प्रस्तुत गर्नुभयो । २०७४ सालमा स्थापित महासंघले ज्येष्ठ नागरिकका क्षेत्रमा विभिन्न रचनात्मक कार्य गर्दै आएको छ ।


विराटनगर  १५ गते । व्यवस्थापन शिक्षामा अब्बल रहेको विराटनगरस्थित मेरिल्याण्ड कलेजले विविएसमा भर्ना भएका विद्यार्थीहरूलाई स्वागतसँगै अभिमुखीकरण कार्यक्रम आयोजना गरेको छ ।

कलेजले सोमबार एक भव्य कार्यक्रम आयोजना गरी भर्ना भएका विविएस प्रथम वर्षका विद्यार्थीहरूलाई स्वागत गर्दै अभिमुखिकरण कार्यक्रम गरेको हो ।

गुणस्तरीय शिक्षा प्रदान गरी विद्यार्थी र अभिभावको रोजाइमा परेको केलजमा भर्ना भएका नयाँ विद्यार्थीहरूलाई कलेजका नियम, कक्षा संचालनको बिधि, कलेजको इतिहास लगायतको बिषयमा अभिमुखीकरण गरिएको कलेजका प्रिन्सिपल लक्ष्मण ढकालले जानकारी दिए ।

कलेज व्यवस्थापन समितका उपाध्यक्ष प्राडा पिके झाको सभापतित्वमा भएको कार्यक्रममा निर्देशकहरू, डा. मनोज गुप्ता, भेषराज पोखरेललगायतले गुणस्तरीय शिक्षा प्रदान गरेको कारण विद्यार्थीहरू मेरिल्याण्ड रोजाइमा परेको बताए । उनीहरूले विद्यार्थीहरूलाई गुणस्तरीय शिक्षा सँगै संस्कार र रोजगारमुखी शिक्षा प्रदान गर्न कलेज कठिबद्ध भएको बताए ।

कार्यक्रममा मेरिल्याण्ड कलेजका प्रिन्सिपल लक्ष्मण ढकालले सक्षम नेतृत्व, कुशल व्यवस्थापन र मेहनती प्रध्यापक, शिक्षक शिक्षिकाहरुका कारण मेरिल्याण्ड सधै उत्कृष्टमा परेको बताए ।

२०६२ सालमा मेरिल्याण्ड कलेजले विविएस अध्यापन गराउँदै आएको १९ औं ब्याचमा ७६ विद्यार्थी भर्ना गरेको प्रिन्सिपल ढकालले बताए  । मेरिल्याण्डमा प्लसटु, विविएस र सिए प्रोग्रामहरु छुटाछुट्टै अत्याधुनिक सुविधा सम्पन्न भवनमा भयरहित वातवरणमा पढाइ हुने गरेको छ ।

उत्कृष्ट शैक्षिक वातावरण, कडा अनुशासन, डेडीकेटेड फ्याकेल्टी, एडेक्वेट क्यारियर डेबलपमेन्ट अवसर, निरन्तर सुपरिवेक्षण मेरिल्याण्डका केहि सफलताको शुत्र भएको प्रिन्सिपल ढकाल बताए । ‘एक उत्कृष्ट शैक्षिक संस्थाको मापन गर्ने मध्यम उक्त संस्थाबाट पास भएर गएका लिद्यार्थीहरु हुन्,’ प्रिन्सिपल ढकालले भने, ‘मेरिल्याण्ड पढेर गएका विद्यार्थीहरु देश विदेशमा हासिल गरेको सफलता नै हो । यहाँबाट पासआउट भएका विद्यार्थी विभिन्न ओदामा पुगेका छन् । समयको माग अनुसारको शिक्षा विद्यार्थीको उन्नयनको लागि सधै नयाँ योजना ल्याउनुले पनि मेरिल्याण्ड अग्रिणी संस्था बन्न सकेको हो ।’

निशा राजवंशी, किन्जन पोखरेल, सिमरन अग्रवाल र रोहितजंग कार्कीलगायतले विविएसको विभिन्न वर्षमा नेपाल प्रथम भएको कलेजले जनाएको छ 


विराटनगर पुस १४ गते | विराटनगर महानगरपालिकाका मेयर नागेश कोइरालाले विराटनगर–६ बह्रमपुरास्थित धरणीधर आधारभूत विद्यालयको अनुगमन गर्नुभएको छ ।

वडाध्यक्ष हरिशचन्द्र सहनीलाई साथैमा लिएर पुग्नुभएका मेयर कोइरालाले शिक्षक र विद्यार्थीसित अन्तरक्रियासमेत गर्नुभएको थियो । सामुदायिक विद्यालयको गुणस्तर वृद्धिमा महानगरपालिका लागिपरेको बताउँदै मेयर कोइरालाले परिणाम देखिने गरी काम गर्न प्रधानाध्यापक र शिक्षकहरुलाई निर्देशन दिनुभएको थियो । 

विद्यालयको भौतिक संरचना निर्माण महानगरले जिम्मा लिने बताउँदै मेयर कोइरालाले शैक्षिक गुणस्तर वृद्धिको जिम्मा शिक्षकहरुले लिनुपर्नेमा जोड दिनुभयो । तल्लो तहदेखि नै गुणस्तर वृद्धि गर्न सकिए माथिल्लो तहमा नतिजा राम्रो आउने उहाँको भनाइ थियो । मेयर कोइरालाले प्रअ र शिक्षक जिम्मेवार र इमान्दारीपूर्वक लागिपरे गुणस्तर वृद्धि हुने विश्वास व्यक्त गर्नुभयो ।

महानगरले सबै सामुदायिक विद्यालयका कक्षाकोठामा पंखा जडान कार्यलाई निरन्तरता दिइरहेको कोइरालाले जानकारी दिनुभयो । सामुदायिक विद्यालयको गुणस्तर वृद्धिमा महानगर लागिपरेको उहाँको भनाइ थियो । 

वडाध्यक्ष सहनीले सो विद्यालयको भौतिक संरचनासँगै गुणस्तर वृद्धिमा वडा लागिपरेको जानकारी दिनुभयो । मेयर कोइरालाले महानगरले निर्माण गरेको नवनिर्मित विद्यालय भवनको समेत अवलोकन गर्नुभएको थियो । सो क्रममा प्रअ, शिक्षक र विद्यार्थीले मेयर कोइरालालाई स्वागत गरेका थिए ।

 विद्यालयमा १९४ जना विद्यार्थी अध्ययनरत रहेको प्रअ खेम निरौलाले जानकारी दिनुभयो । प्रअ निरौलाले विद्यालयमा डुबानको समस्या रहेको बताउनुभयो । उहाँले महानगरले नयाँ भवन बनाइदिएपछि वर्षाको समयमा पनि पठनपाठनमा सहज भएको उल्लेख गर्नुभयो ।

 


विराटनगर पुस १४ गते | विराट मेडिकल कलेजले आयोजना गरेको खुल्ला कविता प्रतियोगितामा विजिता अर्याल प्रथम भएकी छन् ।

‘विराट फिस्टा–२०२४’ अन्तर्गत शनिबार आयोजित कविता प्रतियोगितामा ‘आजको आज’ शीर्षकको कविता प्रस्तुत गरेर विजिता प्रथम भएकी हुन् । कवि एवं पत्रकार मीनकुमार नवोदित प्रमुख निर्णायक र कवि डा. सूर्य पराजुली (एसपी लोचन) सदस्य रहेको निर्णायक समितिले पुरस्कृतहरूको नाम घोषणा गरेको थियो । 

प्रतियोगितामा ‘खाली आँगन अनि हराएका खुसीहरू’ कविता वाचन गरेर श्रद्धा दाहाल द्वितीय हुँदा ‘गाँजा र मेरो देशको वेदना’ कविता वाचन गरेर जेनिशा परियारले तृतीय स्थान हासिल गरे । ‘सोच’ शीर्षकको कविता वाचन गर्ने हर्षवर्धन सिंह र ‘जनस्वास्थ्य एक समकालीन मुद्दा’ शीर्षकको कविता प्रस्तुत गरेर स्मृति अधिकारीले सान्त्वना पुरस्कार प्राप्त गरे ।

मेडिकल कलेजमा एमवीवीएस, विएससी नर्सिङ, नर्सिङलगायत विभिन्न विभागमा अध्ययनरत विद्यार्थीले प्रतिस्पर्धामा सहभागिता जनाएका थिए । विद्यार्थीभित्र लुकेर रहेको प्रतिभा प्रस्फुटन र प्रतिस्पर्धी क्षमताको विकास गर्ने उद्देश्यले प्रतियोगिता आयोजना गरिएको कार्यक्रम संयोजक डा. सूर्य पराजुलीले जानकारी दिए । कार्यक्रममा प्रमुख निर्णायक नवोदितले मेडिकल अध्ययन गरेका व्यक्ति पनि साहित्य, गीतसंगीत र कला क्षेत्रको माथिल्लोस्तरमा पुगेको बताए । 

नेपाली साहित्यमा थुप्रै चिकित्सकहरू पनि साहित्य, कला र गीतसंगीतमा रहेको चर्चा गर्दै नवोदितले पाठ्यक्रमभित्रको अध्ययनसँगै बाहिर ज्ञानलाई पनि फराकिलो बनाउन आग्रह गरे । साहित्यिक अध्ययनमार्फत ज्ञानको भण्डारलाई वृहत्त बनाउन सकिने उनको विचार थियो । कार्यक्रममा कलेजका विद्यार्थी विपास्ना खरेल, साजन यादव, गौरव विकलगायतले गीत र अप्रतियोगी सिर्जना वाचन गरेका थिए ।

विराट फिस्टाअन्तर्गत कलेजले कविता प्रतियोगितासहित खेलकुद, हाजिरीजवाफलगायतका विभिन्न कार्यक्रम आयोजना गरेको छ । सबै प्रतियोगिताका विजेतालाई सोमबार कलेजले विशेष समारोह आयोजना गरेर पुरस्कार, मेडल र प्रमाणपत्र प्रदान गर्नेछ । कलेजले गत वर्ष पनि विराट फिस्टा आयोजना गरेको थियो ।

 


विराटनगर, पुस १४ गते । सर्वोच्च अदालतका माननीय न्यायाधीश सपना प्रधान मल्लज्यू र माननीय न्यायाधीश सारङ्गा सुवेदीज्यूले कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरको अवलोकन भ्रमण गर्नु भएको छ । पुस १३ गते अवलोकन भ्रमणको क्रममा पाल्नु भएका वहाँहरुलाई कोशी प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक राजन अधिकारीले स्वागत गर्नु भएको थियो । 

अवलोकन भ्रमणको क्रममा वहाँहरुले कोशी प्रदेश प्रहरी कार्यालयको अपराध अनुसन्धान शाखा, महिला बालबालिका सेवा केन्द्र, सामुदायिक शाखा तथा शिशु स्याहार कक्षको अवलोकन भ्रमण गर्नु भएको थियो । अवलोकन भ्रमणको क्रममा पाल्नु भएका वहाँहरुले कार्यालय परिसरमा बृक्षारोपण समेत गर्नु भएको थियो ।

उक्त कार्यक्रममा उच्च अदालत विराटनगरका माननीय मुख्य न्यायाधीश रमेश प्रसाद राजभण्डारी, मोरङ जिल्लाका प्रमुख जिल्ला अधिकारी प्रेम प्रसाद भट्टराई, कोशी प्रदेश प्रहरी तालिम केन्द्रका समादेशक प्रहरी वरिष्ठ उपरीक्षक अबि नारायण काफ्ले, प्रदेश प्रहरी गण विराटनगरका प्रहरी उपरीक्षक प्रदिप बहादुर क्षेत्री, जिल्ला प्रहरी कार्यालय मोरङका प्रहरी उपरीक्षक नारायण प्रसाद चिमरीया लगायत सिनियर तथा जुनियर प्रहरी अधिकृतहरुको सहभागिता रहेको थियो ।


सुनसरी |  सुनसरीको धरान उप(महानगरपालिका ४ स्थिबाट लागुऔषध गाँजा बोकेको ग।२ च ८११७ नम्बरको कार सहित २ जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ । 

पुस १२ गते दिउँसो विशेष सुचानको आधारमा इलाका प्रहरी कार्यालय धरानबाट प्रहरी नायव उपरीक्षक प्रकाश जवेगुको कमाण्डमा खटिएको प्रहरी टोलीले धनकुटाबाट धरान तर्फ आउँदै गरेको  ग। २ च ८११७ नम्बरको कारलाई रोकी चेकजाँच गर्ने क्रममा कारको डिकी भित्र  प्लाष्टिकमा प्याक गरी लुकाई छिपाई राखेको ३७ किलोग्राम गाँजा वरामद गरेको हो ।

 गाँजा बरामद भए संगै कार र चालक उदयपुर वेलका नगरपालिका(९ का २३ बर्षीय तिर्थ दर्जी र कारमा सवार बराहक्षेत्र नगरपालिका १ का ४० बर्षीय कृष्ण बिसुङ्खे समेतलाई नियन्त्रणमा लिइ आवश्यक कानुनि कारवाही तथा थप अनुसन्धान भईरहेको छ ।


विराटनगर पुस ११ गते | संघीय सांसद डा. शेखर कोइरालाले आफ्ना क्षेत्रका जनतासितको भेटघाटको क्रमलाई बाक्लो बनाएका छन् ।

निर्वाचित भएर गएपछि जनतालाई बेवास्ता गर्ने गरेको भन्दै जनप्रतिनिधिमाथि लागेको आरोप चिर्दै सांसद कोइरालाले जनताको घरदैलोमै पुगेर समस्या र सुझाव लिने क्रमलाई विगतमा भन्दा बाक्लो बनाएका हुन् । विराटनगर महानगरपालिकाका मेयर नागेश कोइरालालाई साथैमा लिएर आफ्नो निर्वाचन क्षेत्रका जनताको घरदैलो पुग्ने क्रमलाई सांसद कोइरालाले तीव्रता दिएका छन् । नेपाली कांग्रेसका वरिष्ठ नेतासमेत रहेका कोइराला यसअघि पनि निर्वाचन क्षेत्रका जनताको घरदैलोमा पुगेर उनीहरुका विभिन्न समस्याहरु समाधान गर्दै आएका    थिए । कोइराला पार्टीका विभिन्न कार्यक्रममा देश दौडाहामा हुँदा क्षेत्रमा कम आउने गरेको गुनासो थियो ।

दसैं–तिहारयता भने सांसद कोइराला काठमाडौंमा भन्दा विराटनगरमै बढी बस्न थालेका छन् । पार्टीको कार्यक्रम सकेर उनी विराटनगर नै फर्किने गरेका छन् । केही दिनअघि सुदूरपश्चिम प्रदेशका विभिन्न जिल्लामा आयोजित कार्यक्रममा सहभागी भएर नेता कोइराला पुनः विराटनगर फर्किए । बिहीबार सांसद कोइरालाले विराटनगर–१२ को बखरी क्षेत्रका स्थानीयसित भेटघाट गरे । भेटघाटका क्रममा कोइरालासित स्थानीयले सडक र नाला निर्माणसँगै डुबान समस्या समाधान गर्न माग गरेका थिए । उनीहरुले फोहोर व्यवस्थापन, रोजगारी सिर्जना, लागूऔषध नियन्त्रणलगायतका विषय पनि उठाएका थिए ।

सांसद र मेयर घरदैलोमै आएर जनताका समस्या सुन्नु निकै खुसीको कुरा भएको स्थानीय सहदेव चौधरीले बताए । तत्कालै पूरा नभए पनि आफ्ना समस्या सुनिदिएकोमा मनै हलुङ्गो भएको उनको भनाइ थियो । ‘समस्या समाधान होस् नहोस् तर राख्न त पाइयो नि,’ उनले भने, ‘कम्तीमा उहाँहरुलाई जनता कति समस्यामा बसेका रहेछन् भन्ने जानकारी त     भयो ।’ उनले आफ्नो घर अगाडिको सडक र नाला बनाइदिन आग्रह गरेका थिए ।

शिक्षक ओम आचार्यले सबै जनप्रतिनिधिहरु जनताको घरदैलोमा पुग्दा जनतामा आशावादी हुने प्रतिक्रिया दिए । जितेपछि नाकमुख नदेखाउने प्रवृत्तिले नेताप्रति जनताको वितृष्णा जाग्नुका साथै निराश पनि हुने गरेको उनको टिप्पणी थियो । ‘हामी सबैलाई थाहा छ अहिले मुलुक नै आर्थिकमन्दीमा छ । महानगरसित पैसा छैन । सांसदले आफ्नो क्षेत्रमा खर्च गर्ने पैसा सरकारले छुट्याएको छैन,’ आचार्यले भने, ‘तर जनताका बीचमा गएर कुरा सुनिदिँदा पनि धेरै राम्रो सन्देश जान्छ ।’ राष्ट्रिय नेता डा. कोइराला झन् जनताको घरदैलोमा पुग्दा सकारात्मक सन्देश जाने उनको भनाइ थियो ।

जनताको गुनासो सुनेपछि सांसद कोइरालाले धेरै निराश नहुन आग्रह गरेका थिए । उनले स्थानीयस्तरबाट हुने काम गर्नकै लागि पनि मेयरलाई साथैमा लिएर आएको प्रस्टीकरण दिएका थिए । उनले फाहोर व्यवस्थापनका लागि आफूले पहल गरिरहेको जानकारी दिए । मेयर कोइरालाले महानगरभित्र अहिले धेरै काम भइरहेको दाबी गरे । उनले राजवंशीचोक पश्चिम पुलचोकदेखि सुनसरी–मोरङ सिंचाइ आयोजनाको नहरमा कालोपत्रे गर्ने काम सुरु भइसकेको जानकारी दिए ।

 उनले यसै आर्थिक वर्षभित्र नहरको साढे ५ किलोमिटर सडक कालोपत्रे भइसक्ने बताए । त्यसपछि दक्षिणी क्षेत्रका बासिन्दालाई नोवेल र विराट अस्पताल र इटहरी जान सहज हुने उनले बताए । धरान रोडको ट्राफिक समस्या केही मात्रामा भए पनि कम हुने उनको भनाइ थियो ।

 


विराटनगर पुस ११ गते   विराटनगर महानगरपालिकाका मेयर नागेश कोइरालाले ज्येष्ठ नागरिकले प्राप्त गरेका अनुभव, ज्ञान र सीपलाई समाजले ग्रहण गर्नुपर्नेमा जोड दिनुभएको छ ।

चौथो राष्ट्रिय ज्येष्ठ नागरिक दिवसका अवसरमा कोशी प्रदेश ज्येष्ठ नागरिक महासंघ, ज्येष्ठ नागरिक जिल्ला संघ मोरङ र विराट ज्येष्ठ नागरिक समाज विराटनगर महानगर समितिले संयुक्त रुपमा आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै मेयर कोइरालाले किताबको ठेलीमा भन्दा बढ्ता ज्ञान ज्येष्ठ नागरिकहरुको अनुभवबाट प्राप्त गर्न सकिने बताउनुभयो । 

जीवनमा हरेक व्यक्ति ज्येष्ठ नागरिक हुने बताउँदै मेयर कोइरालाले भन्नुभयो, ‘ज्येष्ठ नागरिक भनेका हजारौं पानाका किताब   हुन् । समाजले उनीहरुलाई पढ्न सक्नुपर्छ । उनीहरुले प्राप्त गरेका अनुभवलाई ग्रहण गर्नुपर्छ र समाजलाई सही मार्गमाअगाडि बढाउनुपर्छ ।’

कार्यक्रमका प्रमुख अतिथिसमेत रहनुभएका मेयर कोइरालाले ज्येष्ठ नागरिकका नैतिक आदर्शलाई नयाँ पुस्तामा हस्तान्तरण हुने व्यवस्थाको सिर्जना गर्दै परिवार, समाज तथा राष्ट्रलाई असल संस्कृतिको निरन्तरता र समाज सापेक्ष विकासको प्रेरणाको रूपमा लिनु जरुरी रहेको औंल्याउनुभयो । नेपालमा हाल २५ लाखभन्दा बढी ज्येष्ठ नागरिक रहेको बताउँदै मेयर कोइरालाले संविधानमा उल्लेख भएअनुसारको अधिकार राज्यबाट ज्येष्ठ नागरिकले प्राप्त गरेका छन् कि छैनन् भनेर समीक्षा हुनु जरुरी बताउनुभयो ।

वैदेशिक रोजगारीले ज्येष्ठ नागरिकलाई समस्यामा पारेको उहाँको भनाइ थियो । ‘छोरा विदेशमा हुने यता बुहारी छोराछोरी पढाउने बहानामा सहरमा बस्ने गर्दा गाउँमा वृद्ध आमा र बुवा मात्रै हुने अवस्था पनि छ । यसले ज्येष्ठ नागरिकले दुःख पाएको अवस्था देखिन्छ,’ उहाँले थप्नुभयो, ‘यति मात्रै होइन छोराछोरीहरु अध्ययन र रोजगारीका लागि विदेश पलायनले पछिल्लो समय सहरमा पनि ज्येष्ठ नागरिकहरुमा एक्लोपन हुने क्रम बढ्दो छ ।’

मेयर कोइरालाले विराटनगर महानगरपालिकाले ८० वर्षभन्दा माथिका ज्येष्ठ नागरिकहरुलाई घर–घरमै पुगेर निःशुल्क स्वास्थ्य जाँच गर्नुका साथ औषधिसमेत वितरण गर्दै आएको जानकारी गराउनुभयो ।

कार्यक्रममा वडा नम्बर ५ का अध्यक्ष सन्तोष न्यौपाने, वडा नम्बर ११ का अध्यक्ष तीर्थेन्द्र नेउपाने, ज्येष्ठ नागरिक महासंघ कोशी प्रदेश अध्यक्ष मणिकुमार अज्र्याल, मोरङ अध्यक्ष एकेश्वर निरौला, विराटनगर महानगर समिति अध्यक्ष सुरेशकुमार श्रेष्ठ, उपाध्यक्ष रमानाथ भट्टराईलगायतले ज्येष्ठ नागरिकका मुद्दालाई राज्यले सम्बोधन गर्नुपर्नेमा जोड दिनुभएको थियो ।

नेपालमा हरेक वर्ष पुस ११ गते राष्ट्रिय ज्येष्ठ नागरिक दिवसका रुपमा मनाउने गरिएको छ ।


विराटनगर पुस ११  गते | विराटनगर–९ स्थित सरस्वती माविले पूर्वप्रधानाध्यापकसहित विभिन्न क्षेत्रका व्यक्तिहरुलाईसम्मान गरेकोछ ।

८२ औं वार्षिकोत्सव तथा विद्यालयका संस्थापक अध्यक्ष नारायणप्रसाद कोइरालाको स्मृति दिवसको अवसर पारेर विद्यालयले पूर्वप्रधानाध्यापक डिल्ली पोखरेल, योगेन्द्रबहादुर कार्की तथा शिक्षकहरु भवानी भट्टराई, भरतराज दाहाल र भरतबाबु दाहाललाई सम्मान गरेको हो । कार्यक्रममा विराटनगर महानगरपालिकाका मेयर नागेश कोइरालाले दोसल्ला ओढाएर सम्मानपत्र प्रदान गर्नुभएको थियो । कार्यक्रमलाई सम्बोधन गर्दै मेयर कोइरालाले सामुदायिक विद्यालयले गुणस्तर वृद्धिमा ध्यान दिनुपर्नेमा जोड दिनुभयो । विराटनगरको मुटुमा अवस्थित र पुराना विद्यालय भएर पनि सरस्वती अन्य सामुदायिक विद्यालयसरह खरो रुपमा उत्रिन नसकेको उहाँको भनाइ थियो ।

उहाँले विराटनगरकै आदर्श, पोखरिया, गोग्राहा, सत्यनारायणलगायतका विद्यालयले निकै प्रगति गरेको चर्चा गर्नुभयो । संस्थागत विद्यालयहरु जस्तै सामुदायिक विद्यालयहरुबीच पनि प्रतिस्पर्धा हुनु आवश्यक रहेको मेयर कोइरालाले बताउनुभयो । ‘भौतिक संरचना र पर्याप्त शिक्षक–कर्मचारी हुँदाहुँदै पनि धेरै सामुदायिक विद्यालयले प्रगति गर्न सकेका छैनन्,’ मेयर कोइरालाले भन्नुभयो, ‘शिक्षक कर्मचारीले जागिरे मानसिकता त्यागेर विद्यालयको गुणस्तर वृद्धिमा ध्यान दिनुआवश्यकछ ।

महानगरले शिक्षाको गुणस्तर वृद्धिका लागि विभिन्न योजना अघि सारेको उहाँले जानकारी दिनुभयो । महानगरका ५६ वटै सामुदायिक विद्यालयका प्रधानाध्यापकहरुसित महानगरले ४२ बुँदे कार्यसम्पादन सम्झौता गरेको जानकारी दिँदै मेयर कोइरालाले भन्नुभयो, ‘अब प्रअहरुको मूल्यांकन कार्यसम्पादनका आधारमा हुन्छ ।’ मेयर कोइरालाले प्राविधिक र सीपमूलक शिक्षालाई जोड दिनुपर्ने बताउनुभयो । सीपमूलक र प्राविधिक शिक्षाले मात्रै बेरोजगारी समस्या समाधान गर्ने उहाँको तर्क थियो । 

कार्यक्रममा वडा नम्बर ९ का अध्यक्ष विश्वनाथ भगत, समाजसेवी शुभाशिष कोइराला, विद्यालयकी प्रअ अनिता नेपाल, शिक्षक शैलेन्द्र नेपाल, किशोर पोखरेल, भानु प्राविका प्रअ संजीव घिमिरे, महेन्द्र मावि विद्यालय व्यवस्थापन समितिका अध्यक्ष निश्चल अर्याल, अभिभावक संघका अध्यक्ष रमेशकुमार यादवलगायतले स्थानीय सरकार, प्रअ, शिक्षक, अभिभावकलगायत सबैको सामूहिक प्रयासले मात्रै सामुदायिक विद्यालयको गुणस्तर वृद्धि गर्न सकिने विचार प्रकट गर्नुभएको थियो ।

वि.सं. १९९९ मा स्थापित सो विद्यालय विराटनगरमा हाल ७ सय ७ जना विद्यार्थी अध्ययनरत छन् । १ देखि १२ कक्षासम्म पढाइ हुने सो विद्यालयमा २९ जना शिक्षक कर्मचारी कार्यरत रहेको प्रअ अनिता नेपालले जानकारी दिनुभयो ।

 


विराटनगर पुस ११  गते | विराटनगरस्थित मदरल्याण्ड एकेडेमीले आयोजना गरेको वक्तृत्वकला प्रतियोगितामा आद्रता निरौला प्रथम भएकी छन् ।सिनियर र जुनियर दुई समूहमा आयोजित प्रतियोगितामा २५ जना प्रतिस्पर्धीलाई पछि पार्दै निरौलाले प्रथम पुरस्कार जितेकी हुन् । विद्यार्थीभित्र लुकेर रहेको प्रतिभा उजागर गर्दै वाक क्षमता वृद्धि गर्ने उद्देश्यले आयोजित प्रतियोगितामा निशा चौधरी द्वितीय, नविन यादव तृतीय र सौरभ कार्कीले सान्त्वना स्थान हासिल गरे ।

कवि एवं पत्रकार मीनकुमार नवोदित प्रमुख निर्णायक रहेको समितिले जुनियरतर्फ सर्लिन खड्कालाई प्रथम घोषणा गरेको थियो । १९ जना प्रतिस्पर्धीलाई पछि पार्दै सर्लिनले पहिलो पुरस्कार जित्न सफल भएकी हुन् । 

विद्यालयकी शिक्षिका जयश्री चौधरी र रंजिता घिमिरेसमेत निर्णायक रहेको समितिले प्रतियोगितामा प्राप्ति घिमिरे द्वितीय, दुविक्षा महतो तृतीय र मुन्नी यादव सान्त्वना घोषणा गरेको थियो । त्यस्तै एलिसा श्रेष्ठ, समयक पोखरेल, श्रेया कोइराला र युनिका घिमिरेलाई सम्बोधन, प्रस्तुति, विषयवस्तुको बुझाइ, तर्क, समय पालनलगायत बेग्ला–बेग्लै विधाका उत्कृष्ट पुरस्कार दिइएको थियो ।

कार्यक्रमका प्रमुख अतिथिसमेत रहेका नवोदित, विद्यालय व्यवस्थापन समितिकी अध्यक्ष गीता गौतम, शिक्षक बिभव लाभ, जयश्री चौधरी, रंजिता घिमिरेलगायतले विजेता विद्यार्थीहरुलाई मेडल, प्रमाणपत्रसहित पुरस्कार प्रदान गरेका थिए ।

 कार्यक्रममा प्रमुख निर्णायक नवोदितले विद्यार्थीले पाठ्यक्रमको अध्ययनसँगै अतिरिक्त क्रियाकलापमा पनि ध्यान दिनुपर्नेमा जोड दिए । सीपमूलक र व्यवहारिक शिक्षाले मात्रै जीवनलाई सहज बनाउने उनको विचार थियो । 

उत्कृष्ट हुन सके जुनसुकै क्षेत्रबाट पनि अगाडि बढ्न सकिने नवोदितले बताए । व्यवस्थापन समितिकी अध्यक्ष गीता गौतमले अतिरिक्त क्रियाकलापले विद्यार्थीहरुमा प्रतिस्पर्धी क्षमताको विकास हुने बताइन् । उनले मोबाइल, टेलिभिजन हेर्ने समयलाई ज्ञान दिने विभिन्न पुस्तक अध्ययन गर्न आग्रह गरिन् । 

विद्यालयले पाठ्यक्रको अध्ययनसँगै अतिरिक्त क्रियाकलापलाई उच्च प्राथमिकतामा राखेर काम गरिरहेको विद्यालयका प्राचार्य मोहन बुढाथोकीले जानकारी दिए । बेलाबेला कविता, वादविवाद, चित्रकला, वक्कृत्वकला, हिज्जे, निबन्ध प्रतियोगिताका साथै खेलकुदलगायतका अतिरिक्त क्रियाकलाप गर्दै आएको बुढाथोकीको भनाइ थियो ।


झापा, पुस १०  गते । (सुरेन्द्र भण्डारी)मेची–महाकाली सरसफाई अभियानका अभियन्ता, सडकवासी सहयोगापेक्षीको उद्धारकर्ता, असहायको सहयोगी र अपाङ्गता भएका बिरामीका लागि स्रोतसाधन जुटाएर सित्तैमा ह्वीलचेयर दिने मनकारी व्यक्ति हुन् बिष्णु आचार्य । समाज परिवर्तन र गरिब तथा पीडितको अधिकारका लागि लड्न समर्पित उनले रक्तदानमा सहजीकरण, सडकमा असाहय बनेका मानिसको उद्धार, अपाङ्गता भएका व्यक्तिलाई खाद्यान्न उपलब्ध गराउने काममा समेत सधैं अगाडि छन् । उनै आचार्यले बुधवारपनि समाजोपयोगी काम गरेका छन् ।  

विपद्मा परेका व्यवसायीको हितका लागि बिर्तामोड उद्योग वाणिज्य संघले स्थापना गरेको ‘व्यवसायी राहत कोष’मा आर्थिक सहयोग पु¥याएर उनले समाजोपयोगी काम गरेका हुन् । एक करोड रुपैयाँको ‘व्यवसायी राहत कोष’स्थापना गर्दै त्यसको व्याजबाट विपद्मा परेका व्यवसायीलाई सहयोग गर्ने उद्योग वाणिज्य संघको अभियानमा आचार्यले १५ हजार एक सय रुपैयाँ सहयोग गर्दै कोष बृद्धिमा इँटा थपेका हुन् । उनले आफ्नो जन्म दिनको अवसर पारेर संघका अध्यक्ष राजु न्यौपानेलाई चेक हस्तान्तरण गरेका थिए । सो अवसरमा उनलाई बिर्तामोड उद्योग वाणिज्य संघले कदरपत्र समेत प्रदान ग¥यो ।

नेपाली भाषा–साहित्यका महाकवि लक्ष्मीप्रसाद देवकोटाले सुखको परिभाषा दिँदै भनेका छन् – ‘खोज्छन् सबै सुख भनी सुख त्यो कहाँ छ रु आफू मिटाई अरुलाई दिनु जहाँ छ रु’ म खाउँ मै लाउँ, अरु सबै मरून् दुर्बलहरू भन्ने भावनाले वास्तविक आनन्द प्राप्त हुँदैन । परोपकारमा वास्तविक पुण्य छ । धर्म भनेकै मानवताको सेवामा निहीत छ  भनेझैं आचार्ययले पनि संघको कोष वृद्धिमा आर्थिक सहयोग गर्दै परोपकारी भावना जागृत गराइदिएका छन् ।

‘वल्र्ड क्लीनअप डे लिडर्स एकाडेमी एशिया’ नाम दिइएको अन्तर्राष्ट्रिय कार्यक्रममा समेत नेपालको प्रतिनिधित्व गर्दै कन्ट्री लिडरका रुपमा  सहभागी भएका विष्णुले नेपालमा समेत विभिन्न कार्यक्रम गरेर अलग्गै पहिचान बनाएका छन् । उनै विष्णुले बिर्तामोड उद्योग वाणिज्य संघले स्थापना गरेको राहत कोष वृद्धिका लागि सयौं दाताहरुलाई जोड्ने काम गरेको भन्दै उनको संघका पदाधिकारीले उच्च प्रशंसा गरेका छन् ।

व्यवसायी राहत कोषमा १० लाख बढी जम्मा

बिर्तामोड उद्योग वाणिज्य संघले स्थापना गरेको ‘व्यवसायी राहत कोष’मा १० लाख रुपैयाँ भन्दा बढी रकम संकलन भएको छ ।

बिर्तामोडका सामाजिक व्यक्तित्व तथा व्यवसायीहरुले कोष वृद्धिका लागि सहयोग गरेसंगै कोषमा रकम जम्मा हुने क्रम बढेको हो । दाताले कोष वृद्धिका लागि विभिन्न अवसर पारेर कोषलाई सहयोग पु¥याउँदै आएको संघका महासचिव कुशल खतिवडाले बताए । दिनहुँजसो व्यवसायीले सहयोग रकम लिएर कोष वृद्धिका लागि  संघमा आउने गरेको खतिवडाको भनाई छ ।


विराटनगर  ९ गते | विराटनगरस्थित बरगाछी–रानी सडक सौन्दर्यकरण परियोजनाका लागि बैंक तथा वित्तीय संस्थाहरुबाट सहयोग जुट्ने क्रम जारी रहेको छ ।

विराटनगरस्थित सिटिजन बैंक लिमिटेडले सडक सौन्दर्यकरणका लागि २ लाख रुपैयाँ हस्तान्तरण गरेको छ । बैंकका प्रदेश प्रमुख दिवश सिंह ठकुरीसहित मुक्तिनाथ तिम्सिना, मीनबहादुर घिमिरे र पुनन बडालले महानगरपालिका मेयर नागेश कोइरालालाई चेक हस्तान्तरण गर्नुभएको थियो । महानगरले विराटनगरलाई सफा, सुन्दर, उज्यालो, व्यवस्थित र विकसित बनाउने अभियानअन्तर्गत बरगाछी–रानी सडक सौन्दर्यकरण परियोजना अगाडि बढाएको छ । सो परियोजना सम्पन्न गर्न ५५ लाख रुपैयाँ लागत अनुमान गरिएको छ ।

हालसम्म २८ लाख ५० हजार रुपैयाँ प्राप्त भइसकेको महानगरका तर्फबाट सौन्दर्यकरण परियोजनाका लागि सहजीकरण गरिरहेका पुनमकुमार दाहालले जानकारी दिनुभयो । सिटिजन बैंकसहित १५ वटा विभिन्न बैंक तथा वित्तीय संस्थाहरूबाट २८ लाख ५० रुपैयाँ परियोजनाको खातामा जम्मा भइसकेको छ । यसअघि एनआईसी, एनआईएमवी, नेपाल बैंक, ग्लोबल आइएमई, कुमारी बैंक, सानिमा बैंक, कृषि विकास बैंक, एनएमवी बैंक, स्टान्डर्ड चार्टर्ड बैंक, एसवीआई बैंक, हिमालयन बैंक, नविल बैंक, लक्ष्मी सनराइज, छिमेकी लघुवित्त र जीवन विकास लघुवित्त वित्तीय संस्थाले रकम जम्मा गरिसकेका छन् ।

महानगरको आग्रहमा सामाजिक उत्तरदायित्वअन्तर्गत बैंक तथा वित्तीय संस्थाहरूले बरगाछी–रानी सडक सौन्दर्यकरणमा सहयोग पु¥याइरहेका छन् । हाल तारजाली लगाएर फूल रोप्ने कार्य भइरहेको छ । बरगाछीदेखि रोडशेष चोकसम्मका सबै मेडिएम (डिभाइडर)मा तारजाली लगाएर फूल र विरुवासमेत रोपिसकिएको दाहालले जानकारी दिनुभयो । 

बरगाछी–रानी सडकखण्डमा रहेका ४६ वटा डिभाइडरमध्ये ३३ वटामा सौन्दर्यकरणको काम सकिएको छ । रोडशेषदेखि दक्षिण मुख्यमन्त्री कार्यालय अगाडिको डिभाइडरमा पनि तारजाली लगाइसकिएको छ । मेयर कोइरालाले विराटनगरको विराटनगरको समग्र विकासमा सबैको सहयोग आवश्यक रहेको बताउँदै आउनुभएको छ ।

वडा नम्बर १ का अध्यक्ष काजीबहादुर बस्नेत, २ का कुमार पोखरेल, १९ का श्याम घिमिरे, कार्यपालिका सदस्य कमला श्रेष्ठसमेतको उपस्थितिमा भएको चेक हस्तान्तरण कार्यक्रममा मेयर कोइरालाले सबैको साथ र सहयोगले मात्रै विराटनगरको समग्र विकास हुने बताउनुभएको थियो । उहाँले सौन्दर्यकरण अभियानलाई सहयोग गरेकोमा बैंक तथा वित्तीय संस्थाहरुलाई धन्यवाद दिनुभएको थियो ।


विराटनगर ९ गते | विराटनगर महानगरपालिकाले पाठेघरको मुखको क्यान्सरको परीक्षण (स्क्रिनिङ) औपचारिक रुपमा सुरु गरेको छ ।

महानगरका मेयर नागेश कोइराला, उपमेयर शिल्पा निराला कार्की, विराटनगर–१५ का अध्यक्ष प्रकाश साह, निमित्त प्रमुख प्रशासकीय अधिकृत रामप्रसाद ढुंगेललगायतको उपस्थितिमा क्यान्सरको जाँच सुरु गरिएको हो । करुणा फाउण्डेशनसँगको सहकार्यमा विराटनगर–१५ स्थित रानी अस्पतालबाट सुरु गरिएको पाठेघरको मुखको क्यान्सरको परीक्षण शिविर १९ वटै वडामा सञ्चालन गरिने मेयर कोइरालाले बताउनुभयो । शिविरबाहेक महानगरअन्तर्गतका सबै स्वास्थ्य संस्थाबाट नियमित परीक्षण गर्ने व्यवस्थासमेत मिलाइएको मेयर कोइरालाले प्रस्ट्याउनुभयो ।

पाठेघरको मुखको क्यान्सरका कारण महिलाहरूले अकालमै ज्यान गुमाउनु नपरोस् भनेर महानगरले व्यापक रुपमा पाठेघरको मुखको क्यान्सरको जाँच सुरु गरेको उहाँको भनाइ थियो । यसबाट समयमै पाठेघरको क्यान्सरको पहिचान भई उपचार गर्दा क्यान्सर निको हुनुका साथै मृत्युदरमा समेत कमी आउने उहाँले उल्लेख गर्नुभयो । विराटनगरवासीको स्वास्थ्यप्रति महानगर गम्भीर रहेको मेयर कोइरालाले बताउनुभयो । महानगरले सुरु गरेको शिविरबाट बढीभन्दा बढी लाभ उठाउन मेयर कोइरालाले आग्रहसमेत गर्नुभयो ।

महानगरको स्वास्थ्य महाशाखा संयोजक डा. दिलीपकुमार यादवका अनुसार पाठेघरको मुखको क्यान्सरको जाँच १९ वटै वडामा नियमित हुनेछ । त्यसका लागि महानगरले ४२ जना स्वास्थ्यकर्मीहरूलाई भीआईए परीक्षणसम्बन्धी तालिम दिइसकेको छ । त्यस्तै ५ जनालाई विशेष तालिम दिइएको महानगरको स्वास्थ्य महाशाखा अधिकृत रमेश कार्कीले जानकारी दिनुभयो । यसरी तालिम प्राप्त स्वास्थ्यकर्मीहरूले महानगरअन्तर्गतका १९ वटै वडामा रहेका स्वास्थ्य संस्थाहरूबाट नियमित जाँच गर्ने व्यवस्था मिलाइएको उहाँको भनाइ छ । ३० देखि ६० वर्ष उमेर समूहका करिब ८० प्रतिशत महिलाहरूको जाँच गर्ने लक्ष्य राखिएको छ ।

शिविरमा नोवेल अस्पतालका दुईजना स्त्रीरोग विशेषज्ञसहित रानी अस्पतालका चिकित्सक र तालिम प्राप्त स्वास्थ्यकर्मीहरूले पाठेघरको मुखको क्यान्सरको जाँच गरेका थिए । मंगलबार ५८ जनाले परीक्षण गरेको नर्सिङ अधिकृत मीना अधिकारीले जानकारी दिनुभयो । परीक्षण गरेका ५८ जनामा कुनै समस्या नदेखिएको अधिकारीले बताउनुभयो ।

यसैबीच, रानी अस्पतालमा आयोजित कार्यक्रममा पाठेघरको मुखको क्यान्सरको उपचारका लागि करुणा फाउण्डेसनले महानगरलाई दुई थान थर्मोकगुलेसन मेसिन हस्तान्तरण गरेको छ । फाउण्डेसनका कार्यकारी निर्देशक योगेन्द्र गिरीले महानगरका मेयर नागेश कोइराला र उपमेयर शिल्पा निराला कार्कीलाई थर्मोकगुलेसन मेसिन हस्तान्तरण गर्नुभएको थियो । सो मेसिन एउटा रानी र अर्को बैजनाथपुर अस्पतालमा राखिनेछ । फाउण्डेसनले महानगरलाई हस्तान्तरण गरेको सो मेसिन सोही कार्यक्रममा महानगरअन्तर्गतका सम्बन्धित अस्पताललाई हस्तान्तरण गरिएको थियो । स्वास्थ्य महाशाखाका संयोजक डा. यादवले रानी अस्पतालका इन्चार्ज मानिकचद भगत र वैजनाथपुर अस्पतालकी नर्सिङ अधिकृत शर्मिला निरौलालाई सो मेसिन हस्तान्तरण गर्नुभयो ।

परीक्षणका क्रममा क्यान्सरको भाइरसका असरहरू देखिएमा रानी र बैजनाथपुर अस्पतालबाट तालिम प्राप्त चिकित्सक तथा स्वास्थ्यकर्मीहरूद्वारा थर्मोकगुलेसन मेसिनमार्फत उपचार गरिनेछ । रानी अस्पताल र बैजनापुर अस्पतालमा थर्मोकगुलेसन मेसिनबाट उपचार सम्भव नभए थप उपचारका लागि कोशी अस्पताल र धरानस्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा रेफर गरिनेछ ।

करुणा फाउण्डेसनले यसअघि अपाङ्गता रोकथाम तथा पुनःस्थापना कार्यक्रमका लागि महानगरसित सहकार्य गरेको थियो । फाउण्डेसनका कार्यकारी निर्देशक गिरीले महानगरसित जोडिएर काम गर्दा आफूलाई निकै आत्मसन्तुष्टि मिलेको बताउनुभयो । 

महानगरसितको सहकार्यलाई निरन्तरता दिँदै अहिले पाठेघरको मुखको क्यान्सरको जाँचमा पनि फाउण्डेसन सहभागी भएको उहाँको भनाइ    थियो । अटिजम सेवा केन्द्र सञ्चालनका लागि पनि फाउण्डेसनले प्राविधिक सहयोग पु¥याइरहेको छ ।

 

 


विराटनगर पुस ९ गते | ज्येष्ठ नागरिक वडा कार्यसमिति (योग ध्यान केन्द्र विराटनगर–११ को आयोजनामा पाँचदिने विशेष योग प्रशिक्षण सम्पन्न भएको छ ।

विराटनगर महानगरपालिका वडा नम्बर ११ को सहयोगमा योग प्रशिक्षण सम्पन्न भएको हो । नियमित योगका माध्यमबाट शारीरिक र मानसिक रुपमा मानिस स्वस्थ रहने भएकाले योग प्रशिक्षण आयोजना गरिएको ज्येष्ठ नागरिक वडा कार्य समितिका अध्यक्ष अर्जुनकुमार भट्टराईले जानकारी दिनुभयो । योग प्रशिक्षणमा वडावासीसहित विभिन्न विद्यालयका प्राध्यापक, शिक्षकलगायतको सहभागिता रहेको थियो ।

समापन समारोहका प्रमुख अतिथिसमेत रहनुभएका वडाध्यक्ष तीर्थेन्द्र नेउपानले योगका माध्यमबाट मानिसलाई स्वस्थ जीवनयापन गर्न सहज हुने बताउनुभयो । उहाँले पतञ्जली योग समितिले बिहान सुत्ने समयलाई योग गराएर महत्वपूर्ण कार्य गरेको बताउनुभयो । योगलाई तीनै तहको सरकारले उच्च प्राथमिकतामा राखेर काम गर्नुपर्नेमा वडाध्यक्ष नेउपानेले जोड दिनुभयो ।

सो अवसरमा वडाध्यक्ष नेउपानेसहित पतञ्जली योग समिति कोशी प्रदेशकी सचिव शोभा कोइराला, पतञ्जली योग समिति कोशी प्रदेशका संगठन सचिव विष्णु आचार्य, प्रदेश सदस्य धर्मराज आचार्य, जिल्ला आर्युवेद कार्यालय प्रमुख वैजनाथ साह, आयोजक संस्थाका अध्यक्ष अर्जुनकुमार भट्टराईलगायतले महेन्द्र मोरङ क्याम्पस, जनपथ मावि, अरुणोदय मावि, सुम्निमा बोर्डिङ स्कुलका शिक्षकलाई योग शिक्षकका रुपमा प्रमाणपत्र प्रदान गर्नुभएको थियो ।

 योगगुरु लोकराज खनालले योगका विभिन्न अभ्यास गराएर प्रशिक्षण दिनुभएको थियो । हरेक दिन बिहान ५ देखि ७ बजेसम्म योग प्रशिक्षण सञ्चालन भएको थियो ।

 


विराटनगर पुस ८ गते | विराटनगर महानगरपालिकाको करिब ४ करोड लागतमा नहर डिलको सडक कालोपत्रे गरिने भएको छ । विराटनगर–४ राजवंशीचोक पश्चिम पुलचोकदेखि वडा नम्बर १३ को रानी–धरान सडकको नहरसम्म कालोपत्रे हुने भएको छ । त्यसका लागि ठेक्का लागेर निर्माणसमेत सुरु भइसकेको छ ।

निर्माणाधीन सडकको सोमबार महानगरका मेयर नागेश कोइरालाले अनुगमन गर्नुभएको छ । महानगरको ३ करोड ८२ लाख रुपैयाँको आन्तरिक स्रोतबाट सो सडक निर्माण गर्न लागिको मेयर कोइरालाले बताउनुभयो । सो सडक निर्माणपछि धरान रोडमा देखिँदै आएको ट्राफिक समस्या केही मात्रामा भए पनि हल हुने मेयर कोइरालाको भनाइ छ । ६ करोड ३४ लाख अनुमानित लागत गरिए पनि ३ करोड ८२ लाख रुपैयाँमा ठेक्का लागेको छ । 

गत भदौ ६ गते ठेक्का सम्झौता लागेको सो सडकमा हाल ग्राभेलको काम भइरहेको छ । ठेक्का सम्झौताअनुसार ५ दशमल ५ किलोमिटर सडक निर्माण हुनेछ । यसअघि एयरपोर्ट रोडदेखि केशलिया रोडसम्म कालोपत्रे भइसकेको छ । आगामी भदौ ५ गतेभित्र निर्माण सम्पन्न गर्नुपर्ने सम्झौतामा उल्लेख छ । तर चैतभित्रै निर्माण सम्पन्न गर्ने गरी काम भइरहेको महानगरका पूर्वाधार महाशाखाका प्रमुख इन्जिनियर अर्जुन थपलियाले जानकारी दिनुभयो ।

अनुगमनका क्रममा मेयर कोइरालाले स्थानीयसित छलफलसमेत गर्नुभएको थियो । सो वडा नम्बर ४ का अध्यक्ष जितन थापा, वडा नम्बर ११ का अध्यक्ष तीर्थेन्द्र नेउपानेसहितका जनप्रतिनिधिसमेत अनुगमनमा उपस्थिति हुनुहुन्थ्यो ।


बिराटनगर, २०८१ पुस ८ गते । कोशी प्रदेश प्रहरी कार्यालय बिराटनगरको सभाहलमा पत्रकार भेटघाट तथा परिचयात्मक कार्यक्रम सम्पन्न भएको छ । पुस  ८ गते अपरान्ह  कार्यालयको सभाहलमा भएको कार्यक्रममा कोशी प्रदेश प्रहरी प्रमुख प्रहरी नायब महानिरीक्षक राजन अधिकारीले बिभिन्न संचार माध्यममा आवद्द रहेका संचारकर्मीहरुसगं भेटघाट तथा परिचयात्मक कार्यक्रम गर्नु भएको छ ।

भेटघाट कार्यक्रममा अधिकारीले विद्यमान ऐन कानूनको परिधिमा रही कानूनद्वारा निर्दिष्ट कार्यहरुको सफल कार्यान्वयन तथा संगठन प्रमुख प्रहरी महानिरीक्षकज्यू समक्ष भएको सम्झौता अनुरुप कोशी प्रदेशमा शान्ति सुरक्षाको अवस्था सुदृढ बनाउनुका साथै अपराध नियन्त्रण, घटित अपराधको सफल अनुसन्धान गरी पिडकलाई कानुनि दायरामा ल्याउन तथा पिडितलाई न्यायको अनुभुति दिलाउनुका साथै लागुऔषधको प्रयोग तथा ओसार पसार नियन्त्रणको लागि समन्वय र सहकार्य गर्दै अगाडि बढ्ने बताउनु भयो । साथै वहाँले अपराध नियन्त्रण गरी समाजमा शान्तिसुरक्षा कायम राख्न संचार माध्यमको उतिकै महत्वपुर्ण भुमिका रहने हुँदा सवैबाट निरन्तर साथ र सहयोगको अपेक्षा राख्नु भयो ।

कार्यक्रममा प्रदेश प्रहरी प्रमुख अधिकारीले संचारकर्मीहरुबाट उठेका विविध जिज्ञासाहरुको सुनुवाई समेत गर्नु भएको थियो । कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरले आयोजना गरेको भेटघाट कार्यक्रममा कोशी प्रदेशका बिभिन्न संचार माध्यममा आवद्ध संचारकर्मीहरुको उपस्थिति रहेको थियो ।


विराटनगर  पुस ७ गते |  विराटनगर महानगरपालिकाअन्तर्गत रहेको खगोल तथा अन्तरीक्ष विज्ञान अध्ययन अनुसन्धान समितिको आयोजना एकदिने फोल्डस्कोप तथा खगोल विज्ञान कार्यशाला सम्पन्न भएको छ ।


नेपाल एस्ट्रोनोमिकल सोसाइटी (नासो) को समेत सहआयोजना रहेको कार्यशाला आदर्श माविमा भएको थियो । कार्यशालामा सहभागी विज्ञान शिक्षकहरुलाई भारतबाट आएका डा. रफिक रासिद शेखले प्रशिक्षण दिनुभएको थियो । उहाँले शिक्षकहरुलाई फोल्डस्कोप (सानो माइक्रोस्कोप)का बारेमा जानकारी दिनुका साथै त्यसको उपयोग गरी शिक्षण सिकाईलाई कसरी प्रभावकारी बनाउने भन्ने विष्वायमा प्रशिक्षण दिनुभएको थियो । उहाँले विज्ञान शिक्षकहरुलाई सूक्ष्मदर्शी जीवदेखि विशाल ब्रम्हाण्डलाई अवलोकन गर्न विभिन्न स्रोत साधनहरुबारे जानकारी दिनुभयो । उहाँले सहभागी सबै शिक्षकहरुलाई एक–एक थान फोल्डस्कोप उपलब्ध गराउनुभयो ।

समापन समारोहमा महानगरपालिकाका मेयर नागेश कोइरालाले सहभागी शिक्षक–शिक्षिकाहरुलाई प्रमाणपत्र प्रदान गर्नुभएको थियो । कार्यक्रमको प्रमुख अतिथिका रुपमा रहनुभएका मेयर कोइरालाले खगोल तथा अन्तरीक्ष विज्ञान अध्ययन अनुसन्धान समितिले निकै महत्वपूर्ण कार्य गरिरहेको आफूले पाएको बताउनुभयो । उहाँले समितिलाई आवश्यक पर्ने सहयोग महानगरले गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो । मेयर कोइरालाले शिक्षक–शिक्षिकाहरुलाई सिकेको सीप र ज्ञानलाई विद्यार्थी जानकारी दिई विज्ञान तथा प्रविधितर्फ उनीहरुलाई आकर्षित गर्न आग्रह गर्नुभयो ।

कार्यक्रममा अनुसन्धान समितिका अध्यक्ष प्रविणकुमार विश्वास, उदीप पोखरेल, ओशन शर्मा कट्टेल, आदित्य झा, प्रितम साहलगायतले फोल्डस्कोप तथा खगोल विज्ञान कार्यशाला निकै फलदायी भएको बताउनुभयो । माइक्रोस्कोपको आकार ठूलो हुनुका साथै महँगो र उपयोग गर्न जटिल भएकाले फोल्डस्कोप प्रारम्भिक सिकाइका लागि निकै उपयोगी हुने आयोजक समितिका उदिप पोखरेलको भनाइ छ । फोल्डस्कोप सानो र गोजीमै बोक्न सकिने भएकाले बढी उपयोगी हुने पोखरेलले बताउनुभयो । कार्यशालामा विराटनगरका १० वटा सामुदायिक विद्यालयका २० जना प्रतिनिधि विज्ञान शिक्षकहरुको सहभागिता रहेको थियो ।


विराटनगर पुस ७ गते | विराटनगर–१० स्थित अर्किड कलेजले राष्ट्रपति रनिङ शिल्डसहित विभिन्न प्रतियोगिता र कक्षागत परीक्षामा उत्कृष्ट हुने विद्यार्थीहरुलाई सम्मान गरेको छ ।

आइतबार कलेज परिसरमा आयोजित कार्यक्रममा १७ अेो महानगरस्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा उसुतर्फको ४८ केजी समूहमा स्वर्णपदक जित्न सफल विद्यार्थी आलिम साफीलाई कलेजले सम्मान गरेको छ । त्यस्तै राष्ट्रपति रनिङ शिल्ड छात्रतर्फको कबड्डीमा प्रथम हुने र छात्रातर्फ तृतीय हुने विद्यार्थीहरुलाई पनि कलेजले सम्मान गरेको छ । 

१७ अेो राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा कलेजले उसु र छात्रतर्फको कबड्डीमा स्वर्णपदक जित्न सफल भएको थियो । त्यस्तै छात्रातर्फ रजतपदक जितेको थियो । उत्कृष्ट विद्यार्थीहरुलाई कलेजका अध्यक्ष अमित ढकाल, प्राचार्य सीएम श्रेष्ठ, निर्देशक दीपेश बास्तोला, अनिश भट्टराई, गजेन्द्र पण्डित, दुर्जय थापा, कवि एवं पत्रकार मीनकुमार नवोदितलगायतले अविर र खादा लगाएर सम्मान गरेका थिए । मोरङको कटहरीस्थित योङ हर्ट ग्रुपले आयोजना गरेको अण्डर–१९ फुटबल प्रतियोगितामा प्रथम हुने विद्यार्थीलाई पनि सो अवसरमा सम्मान गरिएको थियो ।

सोही अवसरमा कक्षागत परीक्षामा उत्कृष्ट हुने विद्यार्थीलाई पनि नगदसहित सम्मान गरिएको थियो । कार्यक्रममा त्रैमासिक परीक्षाअन्तर्गत कक्षा ११ को विज्ञानतर्फ अशोककुमार मण्डल, हस्तबहादुर बुढाक्षेत्री, परिणाम भण्डारी, कक्षा १२ का मञ्जिल दाहाल, विवश सापकोटा र अनुराधा थापालाई नगदसहित सम्मान गरिएको कार्यक्रम संयोजक मनोज तिवारीले जानकारी दिए । 

त्यस्तै व्यवस्थापनतर्फको कक्षा ११ मा प्रथम हुने जेयाकुमारी पोद्धार, द्वितीय हुने प्रशान्त धामी र तृतीय हुने साक्षी माझीलाई सम्मान गरियो । व्यवस्थापनतर्फकै कक्षा १२ को त्रैमासिक परीक्षामा प्रथम हुने प्रतिमा सिग्देल, द्वितीय हुने अभिशेक ठाकुर र तृतीय हुने पर्वत राजभोर पनि सम्मानित भएका छन् ।

त्यस्तै ११ र १२ कक्षाका विज्ञान र व्यवस्थापन दुवै संकायका उत्कृष्ट १५–१५ जना विद्यार्थीलाई पनि खादा र अविर लगाएर सम्मान गरिएको    थियो । प्रथम, द्वितीय र तृतीय हुने विद्यार्थीलाई नगद र अरु उत्कृष्ट विद्यार्थीलाई खादा र अविरले सम्मान गरिएको प्राचार्य सीएम श्रेष्ठले बताए । उनले अरु विद्यार्थीलाई पनि यसरी नै पुरस्कार र सम्मान प्राप्त गर्ने गरी उत्कृष्ट हुन आग्रह गरे ।

 अध्यक्ष अमित ढकालले पाठ्यक्रमसँगै खेलकुद र अन्य अतिरिक्त क्रियाकलापमा पनि उत्कृष्ट हुनेगरी अगाडि बढ्न विद्यार्थीहरुलाई सुझाव दिए । निर्देशक दीपेश बास्तोलाले राष्ट्रपति रनिङ शिल्ड र कटहरीमा आयोजित फुटबल प्रतियोगिताले अर्किडका विद्यार्थी हरेक क्षेत्रमा अब्बल छन् भन्ने कुराको प्रमाणित गरेको दाबी गरे । 

उनले निकट भविष्यमै आयोजना हुने हिसान कपमा पनि उत्कृष्ट हुनेगरी तयारी थाल्न आग्रह गरेका थिए । विद्यार्थीहरुको चौतर्फी विकासका लागि अर्किडले अध्ययनसँगै खेलकुद, कविता, वक्तृत्वकला, चित्रकला, वादविवादलगायतका अतिरिक्त क्रियाकलाप सञ्चालन गर्दै प्राचार्य श्रेष्ठले जानकारी दिए ।


विराटनगर पुस ६ गते | संखुवासभाको चिचिला गाउँपालिकाले प्रकाशित गरेको ‘चिचिला अन्तर्राष्ट्रिय सांस्कृतिक सम्मेलन–२०८१’ नामक स्मारिका विमोचन गरिएको छ ।

संखुवासभामा आयोजित कार्यक्रममा कोशी प्रदेशका भौतिक पूर्वाधार तथा स्वास्थ्यमन्त्री भूपेन्द्र राईले स्मारिकाको विमोचन गरे । चिचिला गाउँपालिकामा जन्मिएर राष्ट्रिय तथा अन्तर्राष्ट्रियस्तरमा ख्यातिप्राप्त साहित्यकार ताराबहादुर बुढाथोकीले सम्पादन गरेको उक्त स्मारिकाले चिचिला गाउँपालिकाको परिचय अन्तर्राष्ट्रियस्तरमा पुग्ने कार्यक्रमका प्रमुख अतिथिसमेत रहेका मन्त्री राईले बताए ।

स्मारिकाको परिकल्पना, संयोजन, संकलन तथा सम्पादन पाख्रिबासे कान्छो नामले समेत परिचित साहित्यकार बुढाथोकीले गरेका हुन् ।

गाउँपालिका अध्यक्ष पासाङ नूर्वू शेर्पाको सभापतित्वमा भएको कार्यक्रममा जिल्ला समन्वय अधिकारी तथा पूर्वप्रशासकीय अधिकृत शुक्रादेवी राईले पुस्तकको चर्चा गरिन् । उनले लामो समयसम्म गहिरो अनुसन्धान गरी आफूले सोचेभन्दा धेरै गुणा राम्रो पुस्तक बनेकोमा सम्पादकलाई धन्यवादसमेत दिइन् । 

बालकुमार तामाङले पुस्तक चिचिलाको दस्तावेज भएको चर्चा गरे । मन्त्री राईले पुस्तकको निर्माण हुनु मुलुकमै भिन्न र महान काम भएको बताउँदै पुराना पुस्ताहरुको उजारगर गरी पुस्तान्तरण गर्ने र सबै सपनाहरु समावेश भएको एउटा ऐतिहासिक दस्तावेज भएको भन्दै प्रशंसा गरे । गाउँपालिका अध्यक्ष पासाङ नूर्वू शेर्पाले सबै श्रेय सम्पादकमा जाने बताउँदै आफ्नो कार्यकालको एउटा ऐतिहासिक र उत्कृष्ट कार्य भएको बताए ।

कार्यक्रममा महेन्द्र राईले पुस्तकको सम्पादन कार्यबाट आफूलाई निकै ठूलो प्रेरणा मिलेको बताएका थिए । लेखक तथा सम्पादक बुढाथोकीले पुस्तकभित्र चिचिलाको जीवन र जगतलाई प्राथमिकता साथ समेटेको र लामो समयको मेहनतले पुस्तक तयार भएको बताए । उनले चिचिलावासीको अपनत्व हुने काम गर्न सकेकोमा खुसी व्यक्त गरे । पुस्तकभित्र जातीय सांस्कृतिक पहिचान, प्राकृतिक सौन्दर्यको प्रकाशन र गाउँपालिकाको तथ्यलाई समावेश गरिएको छ ।

औपचारिक कार्यक्रम सुरु हुनुभन्दा अघि पन्चैबाजा र पन्चकन्याबाट अतिथि र आगन्तुकलाई स्वागत गरिएको थियो ।

 


बिराटनगर, पुस ५ गते । कोशी प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक राजन अधिकारीले नेपाल प्रहरी प्रशिक्षण प्रतिष्ठान महाराजगंज काठमाडौँमा पुस ७ गते देखि १६ गते सम्म सचालन हुने ४२ औँ आई।जि।पि। रनिङ शिल्ड”  

पुरुष राष्ट्रिय फुटबल प्रतियोगितामा सहभागीताको लागि कोशी प्रदेशको प्रतिनिधित्व गर्दै जान लाग्नु भएका प्रहरी खेलाडीहरुलाई हौसला सहित सफलताको शुभकामना प्रदान गर्नु भएको छ । उक्त कार्यक्रममा कोशी प्रदेश प्रहरी तालिम केन्द्र बिराटनगरका समादेशक प्रहरी वरिष्ठ उपरीक्षक अबि नारायण काफ्ले, कोशी प्रदेश प्रहरी कार्यालयका प्रहरी वरिष्ठ उपरीक्षक भीम बहादुर दाहाल लगायत सिनियर तथा जुनियर प्रहरी अधिकृतहरुको उपस्थिति रहेको थियो ।


विराटनगर पुस ४ गते | विराटनगर महानगरपालिकाले विराटनगरमा सञ्चालित  गीतगजल तथा दोहोरीसाँझलाई व्यवस्थित गर्ने विषयमा सम्बन्धित व्यवसायीहरूसित छलफल गरेको छ ।

दोहोरीसाँझ र गीतगजल व्यवसायका कारण ध्वनि प्रदूषण र होहल्ला भएको भन्दै गुनासो आएपछि महानगरले व्यवसायीहरूलाई बोलाएर व्यवस्थित गर्न निर्देशन दिएको छ । महानगरका मेयर नागेश कोइरालाले तीन दिनभित्र ध्वनि प्रदूषण कम गर्न निर्देशन दिनुभयो । 

उहाँले ध्वनि प्रदूषण र होहल्लाले राति सुत्न, विद्यार्थीलाई अध्ययन गर्नसमेत बाधा पुगेको भन्दै महानगरका विभिन्न स्थानबाट भिडियोसहितको गुनासो आएको जानकारी दिनुभयो । विराटनगरमा सञ्चालित आधाभन्दा बढीले अझै पनि ध्वनि प्रदूषण कम गर्ने विधि नपनाएको पाइएको छ । 

उपमेयर शिल्पा निराला कार्की, प्रमुख प्रशासकीय अधिकृत राजेन्द्र पराजुली, शैक्षिक प्रशासन महाशाखा प्रमुख रामप्रसाद ढुंगेल, राजस्व महाशाखा प्रमुख सरोज गौतम, सरसफाई शाखा प्रमुख पुनम दाहाललगायतको उपस्थितिमा भएको भेलाले महानगर प्रहरीका निरीक्षक राजन पौडेलको संयोजकत्वमा गीतगजल र दोहोरीसाँझलाई व्यवस्थित बनाउन समितिसमेत गठन गरेको छ । 

समितिमा होटल तथा पेयपदार्थ संघअन्तर्गतको रात्रीकालीन होटल व्यवसाय समन्वय समितिका अध्यक्ष सुरज श्रेष्ठ, महानगरको राजस्व महाशाखाका वासुदेव भण्डारी, नासाकु गीतगजलकी सञ्चालिका वविता चौधरी र श्रीराम गीतगजलका सञ्चालक नारायण तिम्सिना सदस्य छन् । समितिले ध्वनि प्रदूषण र पार्किङको अवस्था, राजस्व तिरे नतिरेको, सरसफाई कार्ड बनाए नबनाएको लगायतका विषयमा अनगुमन गर्नेछ ।

मेयर कोइरालाकै पहलमा बसेको प्रमुख जिल्ला अधिकारी, मोरङका प्रहरी प्रमुख, राष्ट्रिय अनुसन्धानका प्रमुखलगायत सरोकारवालाको बैठकले राति १२ बजेसम्म होटल व्यवसाय सञ्चालन गर्न दिने निर्णय गरेको थियो । 

व्यवसायीकै आग्रहअनुसार रात्रीकालीन व्यवसाय सञ्चालन गर्न दिने निर्णय भए व्यवसायीहरूले निर्णय कार्यान्वयन नगरेको मेयर कोइरालाको भनाइ थियो । सोही निर्णयपछि राति ९ बजेसम्म सञ्चालन हुँदै आएका होटल व्यवसाय, गीतगजल रेष्टुरेन्ट, दोहोरीसाँझ हाल १२ बजेसम्म सञ्चालन हुँदै आएका छन् ।

 रात्रीकालीन व्यवसाय सञ्चालन गर्दा ध्वनि प्रदूषण, होहल्ला र अमर्यादित गतिविधि हुन नदिनेलगायतमा व्यवसायीहरूले नै सहमति जनाएका थिए । मेयर कोइरालाले व्यवसायीहरूले विवगतमा गरेको सहमति एक वर्ष बितिसक्दा पनि कार्यान्वयन नहुनु दुःखद भएको प्रतिक्रिया दिनुभयो ।

 ‘अब पनि सहमति कार्यान्वयन नभए पूर्वतः अवस्थाकै राति ९ बजेसम्म मात्रै सञ्चालन हुनेगरी अर्को निर्णय हुनसक्छ,’ मेयर कोइरालाले भन्नुभयो, ‘कम्तिमा व्यवसाय गर्दा अरुलाई बाधा त पुग्नु भएन नि ।’


विराटनगर  पुस २, विराटनगर महानगरपालिकाले आयोजना गरेको ‘महानगर रोजगार मेला’ सम्पन्न भएको छ ।

विराटनगर–७ स्थित इको पार्कमा सोमबार सुरु भएको मेला मंगलबार सम्पन्न भएको हो । रोजगारदाता र रोजगारीको खोजीमा रहेका युवाहरुलाई जोड्ने उद्देश्यले आयोजना गरिएको मेलामा ३ हजार ५ सय जनाले प्रत्यक्ष अवलोकन गरेका छन् । त्यस्तै ३१९ वटा आवश्यकता माग भएको छ । १६१ जनालाई रोजगारदाताले अन्तरवार्ताका लागि बोलाएका छन् । उनीहरुलाई सम्बन्धित कम्पनीले प्रक्रिया पूरा गरेर काममा लगाउनेछ । रोजगार शाखाका कपिल थापाका अनुसार १२ जनाले काम पाइसकेका छन् । उनीहरुले मंगलबारदेखि नै सम्बन्धित कम्पनीमा गएर काम सुरु गरिसकेको थापाले जानकारी दिनुभयो ।

मेला समापन समारोहलाई सम्बोधन गर्दै मेयर नागेश कोइरालाले महानगर रोजगार मेलाले रोजगारीको खोजीमा रहेका युवाहरुका लागि अवसर सिर्जना गरेको बताउनुभयो । उहाँले युवा जनशक्तिको वैदेशिक पलायनलाई रोक्ने  उद्देश्यले स्वदेशमा नै रोजगारीको अवसर प्रदान गर्नका लागि मेला आयोजना गरिएको मेयर कोइरालाले जानकारी दिनुभयो । विराटनगर महानगरपालिकाले बेरोजगार युवायुवतीलाई रोजगारीको अवसर प्रदान गर्न, युवा श्रम शक्ति र रोजगारदाताको बीचमा समन्वय गर्ने गरी रोजगार मेला आयोजना गरिएको उहाँको भनाइ छ ।

समापनका अवसरमा रोजगारदाताहरुलाई कदरपत्र प्रदान गरिएको   थियो । मेयर नागेश कोइराला, उपमेयर शिल्पा निराला कार्की, प्रमुख प्रशासकीय अधिकृत राजेन्द्र पराजुलीले मेलामा स्टल राख्ने सबैलाई कदरपत्रले सम्मान गर्नुभएको थियो । 

कार्यक्रममा स्वीस कन्ट्रयाकका कन्ट्री डाइरेक्टर सञ्जय कार्की, आसमान नेपालका गणेश दाहाल, नेपाल तालिम तथा रोजगार व्यवसायी महासंघ कोशी प्रदेशका अध्यक्ष कृष्ण साहलगायतले महानगरले रोजगार मेला आयोजना गरेर प्रशंसनीय कार्य गरेको बताउनुभएको थियो ।

यसअघि गत वर्ष आयोजना गरिएको पहिलो महानगर रोजगार मेलाबाट एक सय ९७ जना युवा रोजगार भएका थिए । यस वर्षको मेलामा सबैभन्दा बढी स्टाप नर्सको माग आएको महानगरको रोजगार शाखाका थापाले जानकारी दिनुभयो । 

नोवेल, विराट मेडिकल कलेज, मोरङ सहकारी अस्पताल, न्यूरो अस्पताललगायतबाट १ सयभन्दा बढी स्टाप नर्सको माग आएको थापाले बताउनुभयो । उहाँका अनुसार स्टाप नर्सपछि प्रशासन, बजार व्यवस्थापक (मार्केटिङ), सवारी चालक, प्राविधिक, कम्प्युटर टेक्निसियन, लेखापाल, रिसेप्सनिस, बिक्रेतालगायतमा माग आएको छ ।


विराटनगर  पुस १ गते  विराटनगरस्थित आदर्श माविले महानगरस्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको उपाधि जितेको छ ।

विराटनगर महानगरपालिकाले शहीद रंगशालामा आयोजना गरेको प्रतियोगितामा १५ स्वर्ण, १२ कास्य र १२ वटा रजन पदकसहित आदर्शले उपाधि जित्न सफल भएको हो । प्रतियोगिताको शुक्रबार मेयर नागेश कोइरालाले उद्घाटन गर्नुभएको थियो । तीन दिनसम्म सञ्चालन भएको प्रतियोगितामा कूल २८ पदकसहित एभरेष्ट मावि दोस्रो भएको छ । दोस्रो भएको एभरेष्टले ७ स्वर्ण, ७ कास्य र १४ रजत पदक जित्न सफल भयो । ५ स्वर्ण, २ कास्य र ७ रजतसहित सत्यनारायण मावि तेस्रो भएको छ । 

भलिबलको स्पर्धामा छात्र र छात्रा दुवैतर्फ कान्तिपुर माविले उपाधि जितेको छ । कबड्डीको छात्रतर्फ अर्किट माविले र छात्रातर्फ मिल्स माविले उपाधि जिते । विजेता विद्यालयलाई महानगरका प्रमुख प्रशासकीय अधिकृत राजेन्द्र पराजुली, शैक्षिक प्रशासन महाशाखा प्रमुख रामप्रसाद ढुंगेललगायतले शिल्ड, मेडल तथा प्रमाणपत्र प्रदान गर्नुभएको थियो ।

पोखरिया माविले संयोजन गरेको प्रतियोगितामा ३३ सामुदायिकसहित ६२ विद्यालयले भलिबल, कबड्डी, एथलेटिक्स, मार्सल आर्ट गरी ४ विधाका ६६ वटा खेलमा १ हजार ४१८ जना खेलाडीले प्रतिस्पर्धा गरेको महानगरको शिक्षा महाशाखाका अधिकृत कृष्ण भट्टराईले जानकारी दिनुभयो । 

सो प्रतियोगितामा ११७ जना प्रशिक्षक र २१ जना खेल शिक्षकले प्रतियोगितामा सहभागी विद्यार्थीहरुलाई प्रशिक्षण दिएको थिए । पोखरिया माविका प्रधानाध्यापक खेम भट्टराईले पोखरिया माविलाई प्रतियोगिताको संयोजन गर्ने जिम्मेवारी दिएकोमा महानगरलाई धन्यवाद दिनुभयो ।


विराटनगर  पुस १ गते |  विराटनगर महानगरपालिकाको आयोजनामा सोमबारदेखि ‘महानगर रोजगार मेला’ सुरु भएको छ ।

विराटनगर–७ स्थित इको पार्कमा सुरु भएको मेलाको मेयर नागेश कोइरालाले उद्घाटन गर्नुभयो । रोजगारदाता र रोजगारीको खोजीमा रहेका युवाहरुलाई जोड्ने उद्देश्यले मेलाको आयोजना गरिएको महानगरले जनाएको छ । युवा जनशक्तिको वैदेशिक पलायनलाई रोक्ने  उद्देश्यले स्वदेशमा नै रोजगारीको अवसर प्रदान गर्नका लागि मेला आयोजना गरिएको मेयर कोइरालाले जानकारी दिनुभयो ।


 विराटनगर महानगरपालिकाले बेरोजगार युवायुवतीलाई रोजगारीको अवसर प्रदान गर्न, युवा श्रम शक्ति र रोजगारदाताको बीचमा समन्वय गर्ने गरी रोजगार मेला आयोजना गरिएको उहाँको भनाइ छ । दुईदिने मेलाबाट ३ सयभन्दा बढी युवायुवतीले रोजगारी  प्राप्त गर्ने मेयर कोइरालाले बताउनुभयो । ‘२०८० सालमा आयोजना गरिएको पहिलो महानगर रोजगार मेलाबाट एक सय ९७ जना युवा रोजगार भएका थिए, उहाँले भन्नुभयो, ‘यस वर्ष ४ सय जनाभन्दा बढी बेरोजगार युवाले रोजगार प्राप्त गर्ने हाम्रो अनुमानछ ।’

महानगरकी उपमेयर शिल्पा निराला कार्कीले रोजगार उपलब्ध गराउने निकाय र रोजगारको खोजीमा रहेका युवालाई एउटै थलोमा राखेर पुलको काम महानगरपालिकाबाट भएको बताउनुभयो । ‘महानगरपालिकाले हरेक वर्ष रोजगार मेला आयोजना गर्ने गरेको छ,’ उहाँले भन्नुभयो्, बेरोजगारलाई रोजगारी सिर्जना गर्न, बेरोजगार र रोजगारदाताको बीचमा सम्बन्ध स्थापित गर्नका लागि पनि मेलाको महत्वपूर्ण छ ।’

इनरुवा नगरपालिकाकी उपमेयर विनिताकुमार मेहता, महानगरका प्रमुख प्रशासकीय अधिकृत राजेन्द्र पराजुली, वडा नम्बर १ का अध्यक्ष काजीबहादुर बस्नेत, ३ का वासुबहादुर बस्नेत, १० का अर्जुन गिरी, १९ का श्याम घिमिरेलगायतको उपस्थितिमा भएको कार्यक्रममा उद्योग संगठन मोरङका अध्यक्ष राकेश सुरानाले नेपालमा दक्ष प्राविधिक नहुँदा भारतबाट कामदारहरू ल्याउनुपर्ने बाध्यता विद्यामान रहेको उल्लेख गर्नुभयो । 

‘अहिले पनि बजारमा दक्ष जनशक्तिको अभाव छ,’ उहाँले भन्नुभयो, ‘यस क्षेत्रका उद्योगमा प्राविधिक जनशक्तिको अभाव छ । जहाँ विदेशी जनशक्तिले काम गरिरहेका छन् ।’ विराट व्यापार संघका उपाध्यक्ष शरद श्रेष्ठ, नेपाल घरेलु तथा साना उद्योग महासंघ मोरङका अध्यक्ष चेतन निरौलालगायतले घरेलु तथा साना उद्योगमा युवा तथा किशोरीहरूले रोजगार प्राप्त गर्दै आएको बताउनुभएको थियो । ३० वटा बढी स्टल रहेको रोजगार मेलामा आफ्नो दक्षता र सीपको आधारमा रोजगारदाताले युवा जनशक्तिसँग परामर्श गर्नेछन् ।

यसैबीच, मेलामा सबैभन्दा बढी स्टाप नर्सको माग आएको महानगरको रोजगार शाखाका कपिल थापाले जानकारी दिनुभयो । नोवेल, विराट मेडिकल कलेज, मोरङ सहकारी अस्पताल, न्यूरो अस्पताललगायतबाट १ सयभन्दा बढी स्टाप नर्सको माग आएको थापाले बताउनुभयो । उहाँका अनुसार स्टाप नर्सपछि प्रशासन, बजार व्यवस्थापक (मार्केटिङ), सवारी चालक, प्राविधिक, कम्प्युटर टेक्निसियन, लेखापाल, रिसेप्सनिस, बिक्रेतालगायतमा माग आएको छ ।

 स्टल राखेका सबै रोजगारदाताबाट ४ सयभन्दा बढीको माग आएको छ । त्यस्तै २ हजारभन्दा बढीले रोजगारीका लागि आवेदन दिएका छन् । गत वर्षको मेलामा ३२ वटा स्टल समावेश गरिएको थियो भने १९७ जनाले रोजगारी प्राप्त गरेका थिए । ३ हजार २ सयले मेलाको प्रत्यक्ष अवलोकन गरेका थिए । यस वर्षको मेलामा ५ हजारभन्दा बढीले प्रत्यक्ष अवलोकन गर्ने अपेक्षा राखिएको थापाले जानकारी दिनुभयो ।


विराटनगर पुस १  गते | नेपाली कांग्रेसका वरिष्ठ नेता डा, शेखर कोइरालाले सञ्चार क्षेत्र लोकतन्त्रको पहरेदारका रुपमा उभिनुपर्नेमा जोड दिएका छन् ।

अस्ति मसिर २८ गतेको निर्वाचनबाट  नेपाल पत्रकार महासंघका कोशी प्रदेश र मोरङ जिल्लाका नवचिर्वाचित पदाधिकारी सदस्य, केन्द्रिय सदस्य, र केन्द्रिय परिसद सदस्यहरुलाई कोइराला निवासमा बधाई दिँदै उनले सञ्चार क्षेत्र कमजोर भयो भने लोकतन्त्रसमेत कमजोर हुने धारणा राखे । उनले सञ्चार क्षेत्रले प्रतिपक्षको भूमिकासमेत निर्वाह गर्नुपर्ने बताए।

 पछिल्लो समय सञ्चार क्षेत्र कमजोर हुँदै गएको हो कि भन्ने आफूले महसुस गरिरहेको कोइरालाको भनाइ थियो । नेता कोइरालाले सञ्चार क्षेत्र कमजोर हुँदा लोकतन्त्रसँगै मुलुकमा अराजकता, व्यथिति, भ्रष्टाचार मौलाउँदै जाने बताए । ‘सञ्चार क्षेत्रले जहिले पनि प्रतिपक्षको भूमिका निर्वाह गर्नुपर्दछ,’ उनले भने, ‘सञ्चार क्षेत्र बलियो भयो भने लोकतन्त्र पनि बलियो हुन्छ ।’

संघीय सांसदसमेत रहेका नेता कोइरालाले मुलुकमा आर्थिक, सामाजिक, धार्मिक, सांस्कृतिक क्षेत्रमा अराजकता बढ्दै गएको भन्दै चिन्ता व्यक्त   गरे । उनले तीनै तहको सरकारले सुशासन कायम गर्न नसकेको बताए । उनले भ्रष्टाचार, व्यथिति, अराजकताविरुद्ध सञ्चार क्षेत्रले खबरदारी गर्नुपर्नेमा जोड दिए ।

‘अहिले देशका सुशासन छैन, भ्रष्टाचार दिन प्रतिदिन मौलाउँदै गएकोछ । त्यही भएर युवाहरुमा देशप्रति निराशा बढ्दो छ’ उनले थपे, ‘यस्तो बेला सञ्चारकर्मीहरुको भूमिका अहम् हुन्छ । सबै विकृतिविरुद्ध सञ्चार क्षेत्रले आवाज उठाउनुपर्छ ।’ नेता कोइरालाले नवनिर्वाचित प्रदेश र जिल्लाका पदाधिकारी र सदस्यहरुलाई खादा र अविर लगाएर बधाई दिएका थिए ।


विराटनगर  पुस १ गते | संघीय सांसद डा. शेखर कोइरालाले विराटनगरमा निर्माणाधीन वृहत्तर खानेपानी परियोजनाको अनुगमन गरेका छन् ।

खानेपानी परियोजनाको निर्माण कार्यप्रति चासो राख्दै सांसद कोइरालाले महानगर क्षेत्रभित्र विभिन्न स्थानमा पुगेर अनुगमन गरेका हुन् । विराटनगरबासीलाई शुद्ध खानेपानी उपलब्ध गराउने उद्देश्यका साथ विराटनगर महानगरपालिकाको पहलमा खानेपानी परियोजना सञ्चालन भइरहेको छ । जापान सरकार (जाइका)को अनुदान सहयोगमा सञ्चालित परियोजना निर्माण कार्य तीव्र रुपमा भइरहेको छ ।

हाल विराटनगर—८ स्थित हाम्रो चोक पूर्व, रोडरोष चोकदेखि ट्राफिक चोक, नयाँ गुद्रीदेखि पिचरास्थित चिउरामिल चोकसम्म पाइपलाइन विस्तार गर्ने कार्य भइरहेको छ ।

नेपाली कांग्रेसका वरिष्ठ नेतासमेत रहेका छन् कोइरालाले विराटनगर–५ स्थित कलरुवामा निर्माण भइरहेको ओभरहेड ट्यांकीको अनुगमन गरे । सो स्थानमा १२ लाख लिटर क्षमताको ओभरहेड ट्यांकी निर्माण भइरहेको छ । नेता कोइरालाले निर्माणका क्रममा कुनै समस्या आइपरे जनप्रतिनिधिको नाताले आफूले सहजीकरण गर्ने प्रतिबद्धता व्यक्त गरेका थिए । 

उनले खानेपानीको पाइप पुरानो जीर्ण हुँदा विराटनगरवासीलाई खानेपानी वितरणमा समस्या देखिएको बताए । अशुद्ध खानेपानीकै कारण विगतमा विराटनगरमा जन्डिसजस्ता रोगको संक्रमण फैलिएको स्मरण गर्दै सांसद कोइरालाले अहिले सञ्चालन भइरहेको खानेपानी परियोजना निर्माण सम्पन्नपछि विराटनगरवासीले शुद्ध खानेपानी प्रयोग गर्न पाउने विश्वास व्यक्त गरे । परियोजनाको काम सन्तोषजनक रुपमा भइरहेको आफूले पाएको उनको प्रतिक्रिया थियो ।

कलरुवा टोलमा ओभरहेड ट्यांकीका लागि जग खन्ने काम भइरहेको छ । कलरुवामा १२ लाख लिटर क्षमताको ओभरहेड ट्यांकी निर्माण हुनेछ । त्यस्तै सोही स्थानमा साढे ४ लाख लिटर क्षमताको अण्डरग्राउण्ड रिजरभाएर ट्यांकी (पानी स्टोर गर्ने ट्यांकी) निर्माण हुनेछ । डिपीएस स्कुलदेखि पूर्वतर्फ पाइप क्रसिङका लागि ब्रिजको काम भइरहेको छ । खानेपानी संस्था विराटनगरका प्रमुख सन्तोष रौनियारका अनुसार तीनपैनी, देवकोटा चोक र मुनालपथमा १२—१२ लाख लिटर क्षमताको पानी स्टोर गर्ने ट्यांकी निर्माण गरिनेछ । तीनपैनीमा हाल ४ लाख ५० लाख लिटर ओभरहेड ट्यांकी छ ।

 परियोजनाबाट विराटनगर वडा नम्बर १ देखि १४ का बासिन्दा लाभान्वित हुनेछन् । ६८ किलोमिटर पाइप बिछ्याइने रौनियारको भनाइ छ । तोकिएको समयभन्दा अगाडि काम सम्पन्न गर्ने लक्ष्यका साथ तीव्र गतिमा निर्माण कार्य भइरहेको उनले   सुनाए । हाल ४ किलोमिटर पाइपलाइन बिछ्याइसकिएको रौनियारले बताए । हाल निर्माणको करिब ९ प्रतिशत काम सकिएको छ ।

आवतजावत र बजारको व्यापार व्यवसायमा कुनै असर नपर्ने गरी पाइपलाइन विस्तारको काम भइरहेको रौनियारको भनाइ छ । उनका अनुसार सो परियोजना करिब २ अर्ब रुपैयाँको लागतमा निर्माण हुँदैछ । परियोजनाको औपचारिक काम सुरु हुनुभन्दा अगाडि विभिन्न वडामा परीक्षणका रुपमा पाइपलाइन बिछ्याइएको थियो । परीक्षण पूरा भएपछि औपचारिक रुपमा पाइप बिछ्याउन सुरु गरिएको हो ।

विराटनगर महानगरका मेयर नागेश कोइरालाले विराटनगरबासीलाई शुद्ध खानेपानी उपलब्ध गराउने प्रतिबद्धता आफ्नै कार्यकालमा पूरा गर्ने प्रतिबद्धता जनाए । आफूले चुनावी घोषणापत्रमा विराटनगरबासीलाई शुद्धखानेपानी उपलब्ध गराउने प्रतिबद्धता जनाएको स्मरण गर्दै मेयर कोइरालाले तोकिएको समयभित्रै काम सम्पन्न गराउन महानगरका तर्फबाट निर्माण पक्षलाई सहयोग गरिरहेको बताए । 

समस्या देखिएका स्थानमा महानगरले नै समन्वय गरेर समाधान गरिरहेको मेयर कोइरालाको भनाइ थियो । ‘दुई वर्षभित्र सबै काम सम्पन्न गरी महानगरवासीको घरको धारामा पानी झनुपर्छ,’ उनले थपे, ‘त्यसका लागि महानगरले कहाँ के कस्तो भूमिका निर्वाह गर्नुपर्छ महानगर तयार छ ।’ खानेपानी आयोजना सन् २०२६ सम्ममा सम्पन्न गर्ने लक्ष्य लिइएको छ । निर्माण सम्पन्नपछि १ लाखभन्दा बढी लाभान्वित हुनेछन् ।


विराटनगर मसिर ३० गते |  विराटनगर महानगरपालिकाका मेयर नागेश कोइरालाले नेपालभित्र मनाइने चाडपर्वहरूले राष्ट्रिय एकतालाई बलियो बनाएको बताउनुभएको छ ।

किराँत समुदायको महान् पर्व उधौली र नेवार समुदायले मनाउने यःमरी पुन्हिका अवसर शुभकामना सन्देश जारी गर्दै मेयर कोइरालाले नेपालभित्र बसोबास गर्ने हरेक जातजातिको आ–आफ्नै कला, संस्कृति, रीतिरिवाज रहेको उल्लेख गर्नुभएको छ । ७७ वर्ग किलोमिटर क्षेत्रफलमा फैलिएको विराटनगरभित्र १२२ जातजातिको बसोबास रहेको स्मरण गराउँदै मेयर कोइरालाले सबैको बेग्लाबेग्लै कला, संस्कृति, परम्परा र रीतिरिवाजले विराटनगर सांस्कृतिक रुपमा धनी सहर रहेको बताउनुभएको छ ।

उधौली पर्वले नेपालका सबै जातजातिबीच आपसी सद्भाव अभिवृद्धि गर्नाका साथै पारिवारिक, सामुदायिक र सामाजिक एकता कायम राख्न सहयोग गर्ने उनले विश्वास व्यक्त गर्नुभएको छ । “यस्ता चाडपर्वले राष्ट्रिय एकता र साझा नेपालीको पहिचान कायम गर्नमा अहम् भूमिका निर्वाह गर्नेछ । विविधतायुक्त नेपाली समाजमा उधौलीजस्ता पर्वका कारण आपसी सद्भाव, सहिष्णुता र भ्रातृत्वको भावना अभिवृद्धि भई राष्ट्रिय एकतालाई थप सुदृढ बनाउन सहयोग पुग्नेछ भन्ने मैले विश्वास लिएको छु,” मेयर कोइरालाले शुभकामना सन्देशमा भन्नुभएको छ ।

यस्तै मेयर कोइरालाले नेवार समुदायले मनाउने यःमरी पूर्णिमा अर्थात् यःमरी पुन्हिका अवसरमा पनि शुभकामना व्यक्त गर्नुभएको छ । उहाँले शुभकामना सन्देशमा भन्नुभएको छ, “विभिन्न जातजातिको मौलिक कला, संस्कृति र पर्वहरू नेपाली समाजका पुँजी हुन् भन्ने मलाई लाग्दछ । उधौली र यःमरी पुन्हिले सबै जातजातिबीच आपसी सद्भाव अभिवृद्धि गर्दै सामाजिक एकता कायम राखोस् भन्ने शुभकामना दिन चाहन्छु ।”


झापा,मंसीर ३०  गते । सुरेन्द्र भण्डरी- हिजो बिर्तामोड उद्योग वाणिज्य संघले स्थापना गरेको व्यवसायिकराहत कोषका लागि  रकम जम्मा हुने क्रम जारी छ ।
 सामाजिक क्षेत्रका अगुवा तथा व्यवसायीहरुले विभिन्न अवसर परेर संघले स्थापना गरेको कोष बृद्धिका लागि सहयोग गर्दै आएका छन् ।


व्यवसायीलाई विपद् पर्दा सहयोग पु¥याउने उद्देश्यले स्थापना गरिएको कोषका लागि  बिर्तामोडका युवा व्यवसायी नारायणप्रसाद चिमरियाले शनिवार २१ हजार रुपैयाँ सहयोग गरेका हुन् । उनले आफ्नो जन्म दिनको अवसर परेर संघका अध्यक्ष राजु न्यौपानेलाई उक्त रकम प्रदान गरेका हुन् । 


चिमरिया संघको पूर्व वाणिज्य उपाध्यक्ष तथा च्याङथापु स्टोरका सञ्चालक हुन् । उनी नेपाल अलैंची व्यवसायी महासंघका केन्द्रिय महासचिव समेत रहेका छन् । 
चिमरियाले संघले स्थापना गरेको कोषमा रकम वृद्धिका लागि  सहयोग पु¥याएसँगै बिर्तामोड उद्योग वाणिज्य संघका अध्यक्ष न्यौपानेले  कदरपत्र प्रदान गरेका थिए । 


त्यस्तै सुनचाँदी व्यवसायी राजकुमार गुप्ताले शुक्रवार आफ्नो जन्म दिनको अवसर पारेर संघले स्थापना गरेको कोष वृद्धिका लागि २५ हजार रुपैयाँ सहयोग गरेका छन् । उनी राज ज्वेलर्सका संचालक हुन् । उनले पनि संघमा आयोजित संक्षिप्त कार्यक्रमका बीच संघका अध्यक्ष न्यौपानेलाई सहयोग रकम प्रदान गरेका थिए । 
यस अघि युवा व्यवसायी रुपक ओडारीले आफ्नो जन्म दिनको अवसर पारेर पाँच हजार एक सय रुपैयाँ सहयोग गरेका थिए ।
 
त्यसोत संघले स्थापना गरेको कोषका लागि बिर्तामोडका अर्का व्यवसायी संजय चौधरी र भुपेन्द्र भण्डारीले समेत सहयोग गरेका छन् । उनीहरुले समेत जन्म दिनको अवसर पारेर संघले स्थापना गरेको कोष वृद्धिका लागि सहयोग गरेका छन् । 

संजय लेडिज कर्नरका सञ्चालक  चौधरीले २१ हजार एक सय ११ रुपैयाँ र कर पराशर्म सेवाका सञ्चालक  भण्डारीले ११ हजार १ सय ११ रुपैयाँ सहयोग गरेका हुन् । 
जन्म दिनकै अवसरमा संघकी पूर्व कार्य समिति सदस्य तुलसा ढकाल खनालले २१ हजार रुपैयाँ सहयोग गरेकी छिन् । उनी रिया कस्मेटिक सेन्टरकी संचालक हुन् । 

संघले स्थापना गरेको कोषमा सहयोग गर्ने उनीहरु प्रतिनिधि व्यवसायी हुन् । उनीहरु जस्ता धेरै व्यवसायीले अहिले आफ्नो जन्म दिन, विवाह उत्सव तथा  अन्य विभिन्न अवसरका राहत कोषका लागि रकम प्रदान गर्दै आएका छन् । 

संघले सकारात्मक कार्यको सुरुवात गरेको भन्दै अहिले अधिकांश व्यवसायीले फजुल खर्चलाई कटाएर सामाजिक हितका लागि भन्दै संघको कोष वृद्धिका लागि सहयोग उपलब्ध गराउँदै आएको संघका महासचिव कुशल खतिवडाको भनाई छ । 

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.