विराटनगर पुस १ गते | संघीय सांसद डा. शेखर कोइरालाले विराटनगरमा निर्माणाधीन वृहत्तर खानेपानी परियोजनाको अनुगमन गरेका छन् ।
खानेपानी परियोजनाको निर्माण कार्यप्रति चासो राख्दै सांसद कोइरालाले महानगर क्षेत्रभित्र विभिन्न स्थानमा पुगेर अनुगमन गरेका हुन् । विराटनगरबासीलाई शुद्ध खानेपानी उपलब्ध गराउने उद्देश्यका साथ विराटनगर महानगरपालिकाको पहलमा खानेपानी परियोजना सञ्चालन भइरहेको छ । जापान सरकार (जाइका)को अनुदान सहयोगमा सञ्चालित परियोजना निर्माण कार्य तीव्र रुपमा भइरहेको छ ।
हाल विराटनगर—८ स्थित हाम्रो चोक पूर्व, रोडरोष चोकदेखि ट्राफिक चोक, नयाँ गुद्रीदेखि पिचरास्थित चिउरामिल चोकसम्म पाइपलाइन विस्तार गर्ने कार्य भइरहेको छ ।
नेपाली कांग्रेसका वरिष्ठ नेतासमेत रहेका छन् कोइरालाले विराटनगर–५ स्थित कलरुवामा निर्माण भइरहेको ओभरहेड ट्यांकीको अनुगमन गरे । सो स्थानमा १२ लाख लिटर क्षमताको ओभरहेड ट्यांकी निर्माण भइरहेको छ । नेता कोइरालाले निर्माणका क्रममा कुनै समस्या आइपरे जनप्रतिनिधिको नाताले आफूले सहजीकरण गर्ने प्रतिबद्धता व्यक्त गरेका थिए ।
उनले खानेपानीको पाइप पुरानो जीर्ण हुँदा विराटनगरवासीलाई खानेपानी वितरणमा समस्या देखिएको बताए । अशुद्ध खानेपानीकै कारण विगतमा विराटनगरमा जन्डिसजस्ता रोगको संक्रमण फैलिएको स्मरण गर्दै सांसद कोइरालाले अहिले सञ्चालन भइरहेको खानेपानी परियोजना निर्माण सम्पन्नपछि विराटनगरवासीले शुद्ध खानेपानी प्रयोग गर्न पाउने विश्वास व्यक्त गरे । परियोजनाको काम सन्तोषजनक रुपमा भइरहेको आफूले पाएको उनको प्रतिक्रिया थियो ।
कलरुवा टोलमा ओभरहेड ट्यांकीका लागि जग खन्ने काम भइरहेको छ । कलरुवामा १२ लाख लिटर क्षमताको ओभरहेड ट्यांकी निर्माण हुनेछ । त्यस्तै सोही स्थानमा साढे ४ लाख लिटर क्षमताको अण्डरग्राउण्ड रिजरभाएर ट्यांकी (पानी स्टोर गर्ने ट्यांकी) निर्माण हुनेछ । डिपीएस स्कुलदेखि पूर्वतर्फ पाइप क्रसिङका लागि ब्रिजको काम भइरहेको छ । खानेपानी संस्था विराटनगरका प्रमुख सन्तोष रौनियारका अनुसार तीनपैनी, देवकोटा चोक र मुनालपथमा १२—१२ लाख लिटर क्षमताको पानी स्टोर गर्ने ट्यांकी निर्माण गरिनेछ । तीनपैनीमा हाल ४ लाख ५० लाख लिटर ओभरहेड ट्यांकी छ ।
परियोजनाबाट विराटनगर वडा नम्बर १ देखि १४ का बासिन्दा लाभान्वित हुनेछन् । ६८ किलोमिटर पाइप बिछ्याइने रौनियारको भनाइ छ । तोकिएको समयभन्दा अगाडि काम सम्पन्न गर्ने लक्ष्यका साथ तीव्र गतिमा निर्माण कार्य भइरहेको उनले सुनाए । हाल ४ किलोमिटर पाइपलाइन बिछ्याइसकिएको रौनियारले बताए । हाल निर्माणको करिब ९ प्रतिशत काम सकिएको छ ।
आवतजावत र बजारको व्यापार व्यवसायमा कुनै असर नपर्ने गरी पाइपलाइन विस्तारको काम भइरहेको रौनियारको भनाइ छ । उनका अनुसार सो परियोजना करिब २ अर्ब रुपैयाँको लागतमा निर्माण हुँदैछ । परियोजनाको औपचारिक काम सुरु हुनुभन्दा अगाडि विभिन्न वडामा परीक्षणका रुपमा पाइपलाइन बिछ्याइएको थियो । परीक्षण पूरा भएपछि औपचारिक रुपमा पाइप बिछ्याउन सुरु गरिएको हो ।
विराटनगर महानगरका मेयर नागेश कोइरालाले विराटनगरबासीलाई शुद्ध खानेपानी उपलब्ध गराउने प्रतिबद्धता आफ्नै कार्यकालमा पूरा गर्ने प्रतिबद्धता जनाए । आफूले चुनावी घोषणापत्रमा विराटनगरबासीलाई शुद्धखानेपानी उपलब्ध गराउने प्रतिबद्धता जनाएको स्मरण गर्दै मेयर कोइरालाले तोकिएको समयभित्रै काम सम्पन्न गराउन महानगरका तर्फबाट निर्माण पक्षलाई सहयोग गरिरहेको बताए ।
समस्या देखिएका स्थानमा महानगरले नै समन्वय गरेर समाधान गरिरहेको मेयर कोइरालाको भनाइ थियो । ‘दुई वर्षभित्र सबै काम सम्पन्न गरी महानगरवासीको घरको धारामा पानी झनुपर्छ,’ उनले थपे, ‘त्यसका लागि महानगरले कहाँ के कस्तो भूमिका निर्वाह गर्नुपर्छ महानगर तयार छ ।’ खानेपानी आयोजना सन् २०२६ सम्ममा सम्पन्न गर्ने लक्ष्य लिइएको छ । निर्माण सम्पन्नपछि १ लाखभन्दा बढी लाभान्वित हुनेछन् ।
Post a Comment