विराटनगर ९ गते | विराटनगर महानगरपालिकाले पाठेघरको मुखको क्यान्सरको परीक्षण (स्क्रिनिङ) औपचारिक रुपमा सुरु गरेको छ ।
महानगरका मेयर नागेश कोइराला, उपमेयर शिल्पा निराला कार्की, विराटनगर–१५ का अध्यक्ष प्रकाश साह, निमित्त प्रमुख प्रशासकीय अधिकृत रामप्रसाद ढुंगेललगायतको उपस्थितिमा क्यान्सरको जाँच सुरु गरिएको हो । करुणा फाउण्डेशनसँगको सहकार्यमा विराटनगर–१५ स्थित रानी अस्पतालबाट सुरु गरिएको पाठेघरको मुखको क्यान्सरको परीक्षण शिविर १९ वटै वडामा सञ्चालन गरिने मेयर कोइरालाले बताउनुभयो । शिविरबाहेक महानगरअन्तर्गतका सबै स्वास्थ्य संस्थाबाट नियमित परीक्षण गर्ने व्यवस्थासमेत मिलाइएको मेयर कोइरालाले प्रस्ट्याउनुभयो ।
पाठेघरको मुखको क्यान्सरका कारण महिलाहरूले अकालमै ज्यान गुमाउनु नपरोस् भनेर महानगरले व्यापक रुपमा पाठेघरको मुखको क्यान्सरको जाँच सुरु गरेको उहाँको भनाइ थियो । यसबाट समयमै पाठेघरको क्यान्सरको पहिचान भई उपचार गर्दा क्यान्सर निको हुनुका साथै मृत्युदरमा समेत कमी आउने उहाँले उल्लेख गर्नुभयो । विराटनगरवासीको स्वास्थ्यप्रति महानगर गम्भीर रहेको मेयर कोइरालाले बताउनुभयो । महानगरले सुरु गरेको शिविरबाट बढीभन्दा बढी लाभ उठाउन मेयर कोइरालाले आग्रहसमेत गर्नुभयो ।
महानगरको स्वास्थ्य महाशाखा संयोजक डा. दिलीपकुमार यादवका अनुसार पाठेघरको मुखको क्यान्सरको जाँच १९ वटै वडामा नियमित हुनेछ । त्यसका लागि महानगरले ४२ जना स्वास्थ्यकर्मीहरूलाई भीआईए परीक्षणसम्बन्धी तालिम दिइसकेको छ । त्यस्तै ५ जनालाई विशेष तालिम दिइएको महानगरको स्वास्थ्य महाशाखा अधिकृत रमेश कार्कीले जानकारी दिनुभयो । यसरी तालिम प्राप्त स्वास्थ्यकर्मीहरूले महानगरअन्तर्गतका १९ वटै वडामा रहेका स्वास्थ्य संस्थाहरूबाट नियमित जाँच गर्ने व्यवस्था मिलाइएको उहाँको भनाइ छ । ३० देखि ६० वर्ष उमेर समूहका करिब ८० प्रतिशत महिलाहरूको जाँच गर्ने लक्ष्य राखिएको छ ।
शिविरमा नोवेल अस्पतालका दुईजना स्त्रीरोग विशेषज्ञसहित रानी अस्पतालका चिकित्सक र तालिम प्राप्त स्वास्थ्यकर्मीहरूले पाठेघरको मुखको क्यान्सरको जाँच गरेका थिए । मंगलबार ५८ जनाले परीक्षण गरेको नर्सिङ अधिकृत मीना अधिकारीले जानकारी दिनुभयो । परीक्षण गरेका ५८ जनामा कुनै समस्या नदेखिएको अधिकारीले बताउनुभयो ।
यसैबीच, रानी अस्पतालमा आयोजित कार्यक्रममा पाठेघरको मुखको क्यान्सरको उपचारका लागि करुणा फाउण्डेसनले महानगरलाई दुई थान थर्मोकगुलेसन मेसिन हस्तान्तरण गरेको छ । फाउण्डेसनका कार्यकारी निर्देशक योगेन्द्र गिरीले महानगरका मेयर नागेश कोइराला र उपमेयर शिल्पा निराला कार्कीलाई थर्मोकगुलेसन मेसिन हस्तान्तरण गर्नुभएको थियो । सो मेसिन एउटा रानी र अर्को बैजनाथपुर अस्पतालमा राखिनेछ । फाउण्डेसनले महानगरलाई हस्तान्तरण गरेको सो मेसिन सोही कार्यक्रममा महानगरअन्तर्गतका सम्बन्धित अस्पताललाई हस्तान्तरण गरिएको थियो । स्वास्थ्य महाशाखाका संयोजक डा. यादवले रानी अस्पतालका इन्चार्ज मानिकचद भगत र वैजनाथपुर अस्पतालकी नर्सिङ अधिकृत शर्मिला निरौलालाई सो मेसिन हस्तान्तरण गर्नुभयो ।
परीक्षणका क्रममा क्यान्सरको भाइरसका असरहरू देखिएमा रानी र बैजनाथपुर अस्पतालबाट तालिम प्राप्त चिकित्सक तथा स्वास्थ्यकर्मीहरूद्वारा थर्मोकगुलेसन मेसिनमार्फत उपचार गरिनेछ । रानी अस्पताल र बैजनापुर अस्पतालमा थर्मोकगुलेसन मेसिनबाट उपचार सम्भव नभए थप उपचारका लागि कोशी अस्पताल र धरानस्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा रेफर गरिनेछ ।
करुणा फाउण्डेसनले यसअघि अपाङ्गता रोकथाम तथा पुनःस्थापना कार्यक्रमका लागि महानगरसित सहकार्य गरेको थियो । फाउण्डेसनका कार्यकारी निर्देशक गिरीले महानगरसित जोडिएर काम गर्दा आफूलाई निकै आत्मसन्तुष्टि मिलेको बताउनुभयो ।
महानगरसितको सहकार्यलाई निरन्तरता दिँदै अहिले पाठेघरको मुखको क्यान्सरको जाँचमा पनि फाउण्डेसन सहभागी भएको उहाँको भनाइ थियो । अटिजम सेवा केन्द्र सञ्चालनका लागि पनि फाउण्डेसनले प्राविधिक सहयोग पु¥याइरहेको छ ।
Post a Comment