विराटनगर बैशाक ७ गते | गैरसरकारी संस्था महासंघ मोरङको आयोजनामा आइतबारदेखि प्रस्ताव तथा प्रतिवेदन लेखन तालिम सुरु भएको छ ।
विराटनगर महानगरपालिकाको सहकार्यमा आयोजित दुई दिने तालिमको मेयर नागेश कोइरालाले उद्घाटन गर्नुभयो । तालिमको उद्घाटन समारोहलाई सम्बोधन गर्दै मेयर कोइरालाले तालिममा सिकेको सीपलाई व्यवहारमा उतार्न आग्रह गर्नुभयो ।
आफूसित भएको सीप कसैले खोस्न नसक्ने बताउँदै मेयर कोइरालाले सीप भएको व्यक्ति जहाँसुकै गएर पनि आत्मनिर्भर हुन सक्ने बताउनुभयो । सीप भएको व्यक्ति जहाँसुकै पनि बिक्न सक्ने उहाँको धारणा थियो ।
मेयर कोइरालाले विराटनगरवासीलाई सीप सिकाएर आत्मनिर्भर र स्वरोजगार बनाउने बाटोमा महानगर अगाडि बढेको उल्लेख गर्नुभयो । संस्था सञ्चालन गर्दा प्रस्ताव र प्रतिवेदन आवश्यक पर्ने बताउँदै मेयर कोइरालाले गैससले यसपटक समय सान्दर्भिक तालिम आयोजना गरेको बताउनुभयो ।
कार्यक्रममा गैसस महासंघ मोरङकी अध्यक्ष विष्णु शर्माले विभिन्न सरकारी कार्यालयहरुसँग मिलेर कार्यक्रम सञ्चालन गर्दा प्रस्ताव र प्रतिवेदन लेख्न नआउँदा संस्थाका पदाधिकारीहरुले धेरै नै दुःख पाउने गरेको चर्चा गर्नुभयो ।
विराटनगर महानगरपालिकाका राजस्व महाशाखा प्रमुख सरोज गौतम र गैससकी उपाध्यक्ष सरिता लामिछानेले सहभागीहरुलाई प्रशिक्षण दिनुहुनेछ । तालिममा मोरङमा सञ्चालित विभिन्न गैसरकारी संस्थामा आबद्ध ४० जनाको सहभागिता रहेको गैससकी सहसचिव वाग्मती कट्टेलले जानकारी दिनुभयो ।
Post a Comment